अवैध बाटो भएर अमेरिका जानेहरूको पीडा

अवैध बाटो भएर अमेरिका जानेहरूको पीडा


  • छत्रबहादुर मैनाली

कोलोम्बियाको नेकोक्ली भन्ने स्थानबाट कोलोम्बियाकै कपुरगानाको लागि छुटेको डुंगामा सवार सात नेपालीसहित अन्य मुलुकका नागरिकहरू समेत बेपत्ता भन्ने दुःखद समाचार सुनियो । यस्ता घटनाहरू पटक-पटक घटेको सुनिन्छ । तर पनि अवैध बाटो भएर अमेरिका जानेहरूको निरन्तर आगमन भइरहेको छ ।

मैले यो भन्दा धेरै पहिलेदेखि यसको विरुद्धमा आवाज उठाउँदै नेपालको राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूमा समेत सचेतनासहितको समाचार, लेखहरू प्रकाशित गर्दै आएको थिएँ । तर, उक्त समाचार/लेख प्रकाशित भएपछि प्रत्यक्ष-अप्रत्यक्ष दबाब/धम्की आएकै हो ।

पछिल्लो समय नेपालका एक भूतपूर्व प्रधानमन्त्रीसँगको कुराकानीमा प्रसङ्गवश मैले ‘नेपालबाट अत्याधिक संख्यामा मानव तस्करी हुने गरेको सुनिन्छ नि, यो विषयमा मेरो गोपनियता कायम गर्दै विस्तृतमा कुरा गर्न चाहन्छु’ भनेदेखि आजसम्म उहाँसँग दोहोरो कुराकानी भएको छैन ।

अब कुरो रह्यो नेपाली कुटनीतिक नियोगको । सम्पूर्ण राजनीतिक दलहरूको भागबण्डामा परेर तिनका पाउमा नजराना बुझाएर आउने निकम्मा कुटनीतिज्ञहरूबाट यस्ता संवेदनशील विषयमा गम्भीर बनेर न्याय दिलाइदिन्छन् भन्ने पीडितका आफन्तले सोचेका छन् भने आजैबाट दिमागदेखि हटाइदिए हुन्छ । यिनले माखो मार्नेवाला छैनन् । कोलोम्बिया सम्बन्धित देश हेर्ने नेपाली कुटनीतिक नियोगमा कार्यरत कुटनीतिज्ञहरू कुन प्राणी छन्, अहिलेसम्म जानकारीमा छैन । बाध्यतावश सात समुन्द्रपारि अकालमा आफ्ना दाजुभाइ-दिदिबहिनीहरूले ज्यान गुमाउदाको पीडा यहाँ उल्लेख गरेर साध्य छैन ।

पछिल्लो घटना प्राविधिक त्रुटी मात्र नभएर अन्य समेत हुन सक्ने शंका भएकोले केही सम्भावित बुँदा उल्लेख गरेको छु ।

१) नेपालबाट आउनेहरूले दलाललाई मोटो रकम बुझाए पनि दलालले सकेसम्म कम पैसामा पार गराउन खोज्दाको परिणाम हुन सक्छ ।

२) लोकल एजेन्टलाई समयमा पैसा नदिएको बदलास्वरुप डुंगा दुर्घटना गराएको हुन सक्छ । किनकि लामो समय एजेन्टको रेखदेखमा छोडीदिएर आवश्यक रकम नपठाइ लोकल एजेन्ट हत्तु भएको हुन सक्छ, तसर्थ हतारमा सार्न खोज्दा घटना भएको हुन सक्छ ।

३) लोकल एजेन्टले पनि पैसा बचाउनको खातिर थोत्रा सस्तो दरको डुंगा भाडामा लिएको हुन सक्छ ।

४) सामान्यतया डुंगामा सवारी हुँदा लाइफ ज्याकेट अनिवार्य दिएको हुन्छ । शायद लाइफ ज्याकेट पनि नदिएको हुन सक्छ ।

५) वास्तवमा जुन गन्तब्यबाट जाँदै थिए प्रतिव्यक्ति अधिकतम् १५ डलर नेपाली २ हजार रुपैयाँ भन्दा कम भाडा दर छ ।

६) मुख्य दलालसँगको पैसामा कुरा नमिलेर यो घटना घटेको हो कि भन्ने आशंका गर्न सकिन्छ । किनकि समाचारमा उल्लेख भएअनुसार केवल बंगलादेशी नागरिक र नेपाली मात्रै उल्लेख छ । भारतीय नागरिकहरूको नामावली छैन । बंगलादेशी, नेपाली नागरिकहरूलाई सबैभन्दा सस्तो र तल्लो स्तरको तुच्छ सेवा दिएर तड्पाइ-तड्पाइ डाँडो कटाउने गरेको खबर धेरै सुनिन्छ ।

७) घटना घटिसकेको हुनाले केही गर्न सकिने अवस्था रहेन । तैपनि मानवीय नाताले पीडितका कोही आफन्तहरू जोडिन चाहनुहुन्छ भने मेरो तर्फबाट सम्बन्धित निकायसँग सोधखोज गर्न सहयोग गर्नेछु ।

यो विषय मानव तस्करसम्बन्धी भएकोले पीडितका आफन्तले औपचारिक आग्रह नगरेसम्म व्यक्तिगत सोधखोज गर्न कानुनी कठिनाई हुने व्यहोरा समेत अवगत गराउँदछु ।