आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू कामका लागि पुनः भारततर्फ

आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू कामका लागि पुनः भारततर्फ


  • प्रिन्स मिश्रा, कृष्णनगर (कपिलवस्तु)

भारतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि जीविकोपार्जनका लागि कोरोनाको त्रासलाई दबाएर १ महिनाभित्र ११ हजार भन्दा बढी नेपाली नागरिक कपिलवस्तुको कृष्णनगर नाका हुँदै कामका लागि छिमेकी राष्ट्र भारत गएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ-आफ्नो घर फर्केका थिए । खान-लगाउन नपुगेपछि काम गर्न पुनः भारत जान थालेको, कोरोनाको संक्रमण बढेपछि मरे पनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि त्यतै जान थालेको र नेपालमा काम नपाएर समस्या भएपछि कोरोनाको त्रासले फर्किएका नेपाली पुनः भारत जान लागेको स्थानीय नागरिक बताउँछन् ।

बिरामी, औषधि खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, विवाहमा १५ जनालाई आवतजावत गर्न दिएको र भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेलले जानकारी दिए । कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको निरीक्षक पौडेलले बताए । कामका लागि भारत जाने नेपालीको लर्को तलको तस्बिरमा प्रस्ट देखिन सकिन्छ ।