काङ्ग्रेस सभापति गगन वास्तवमै गगन (आकाश)जस्तै विशाल र फराकिलो बन्नुपर्ने परिस्थिति छ । किनकि, उनले चाहे पार्टीमा सबै काङ्ग्रेस अटाउन सक्छन् । अन्यथा गगनको बचेखुचेको साख समाप्त हुने खतरा बढ्नेछ ।
✍ ओम आचार्य

विशेष अधिवेशनपछि नेपाली काङ्ग्रेसभित्र आन्तरिक कलह चरममा पुगेको देखिन्छ । संस्थापन र इतर समुह दुबैको आ-आफ्नो अडान कायम रहँदा यो कलह चरममा पुगेको सहजै बुझ्न सकिन्छ । पुर्णबहादुर खड्काको नेतृत्वमा इतर समुहले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलिसकेको छ । इतर समुहकै नेतृत्व गरिरहेका अर्को समुहका नेता डा. शेखर कोइरालाले पहिलेदेखि नै विशालनगरमा सम्पर्क कार्यलय खोलेका छन् ! यी दुवै समुहका नेताहरूको सभापति गगन थापासंग पछिल्लो समय सहमतिको लागि सम्वाद हुन सकिरहेको छैन । सभापति थापा यी दुवै समुहसंग वार्ता वा सम्वाद गर्न उदासिन देखिएका छन् । उनको यस्तो उदासिनता कायमै रहे काङ्ग्रेस पार्टी फुट्ने सम्भावना प्रवल रहेको इतर समुहको भनाइ रहेको छ, र यसको दोष स्वयम् सभापतिको काँधमा जान्छ ।
नेता पूर्णबहादुर खड्काले सहमतिको लागि तीनवटा बुँदा पेश गरेकोमा सभापति गगन थापाले त्यो बुँदा स्विकार्न नसकिने बताउँदै आएका छन् भने अर्कोतिर पाटी फुट्नबाट जोगाउन हरसम्भव प्रयास गर्दै मध्यस्थाको भूमिका निर्वाह गरिरहेका डा. शेखर कोइरालाले एउटा शक्तिशाली विशेष संयन्त्र बनाएर अघि बढ्नुपर्ने धारणा अघिसारेका छन् । दुर्भाग्यले यो पनि गगन थापा स्विकार गरिरहेका छैनन् । काङ्ग्रेसभित्र गगन थापा भन्दा पनि विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे र प्रदीप पौडेल विशेष तवरले भारी हुँदै गएको देखिन्छ । यही कारणले काङ्ग्रेसभित्र सहमतिको प्रयास न्युन हुँदै गएको काङ्ग्रेसलाई बुझेका राजनीतिका जानकारहरू बताउँछन् ।
एक समय गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा पार्टीभित्र विद्रोह गरी २०५९ सालमा काङ्ग्रेसबाट अलग्गिएर ‘नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)’ नामको अलग दल खोलेर सभापति बनेका शेरबहादुर देउवा कालान्तरमा पाटी मर्ज गर्ने समयमा गिरिजा कोइरालासँग नजिक रहेकाहरूले ‘शेरबहादुरबाहेक सबैलाई पाटीभित्र समायोजन गर्ने’ भनाइ राखेका थिए । तर गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवा पनि पार्टीलाई चाहिने नेता हुन् भन्दै गिरिजा र कृष्णप्रसाद भट्टराईले संयुक्त विज्ञप्ति निकालि देउवाको ‘प्रजातान्त्रिक काङ्ग्रेस’का देउवासहित सबैलाई नेपाली काङ्ग्रेसमा २०६४ साल असार ८ गते ‘मर्ज’ गराएका थिए ! अहिलेको सिंगो काङ्ग्रेस त्यही हो ।
अहिले काङ्ग्रेस भित्र यस्तै भनाइ वा धारणा रहेको देखिन्छ । गगन थापा समुहका केही नेताले देउवा समुहलाई काङ्ग्रेसभित्र ल्याउन चाहेका छैनन्, राजनीतिक घटनाक्रमबाट यस्तै देखिँदै छ । संस्थापन पक्षले शेखर समुहलाई चाहिँ पाटीभित्र ल्याउन चाहेको बुझिन्छ ।
तर, मौजुदा अवस्थामा डा. शेखर कोइराला भने पार्टी सभापतिले भनेजस्तोमा सहमत हुन नसक्ने देखिएको छ । डा. कोइरालाले पार्टी एक होस् भन्दै मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको हुँदा उनको अन्तिम समयसम्मको रणनीति यही हुने देखिन्छ ।
अहिले गगन समुहले गिरिजाप्रसादले देखाएको बाटो पहिल्याएर पार्टी एक बनाउने दायित्व लिनुपर्छ । भोलि पार्टी फुटेमा दोष गगनले नै बोक्नुपर्नेछ र पार्टी एक भए त्यसको श्रेय पनि उनकै पोल्टामा जानेछ । यस कोणबाट भन्नुपर्दा गगनलाई आफ्नो इतिहास बनाउने ठुलो अवसर आएको छ । उनले यो मनन गर्नु आवश्यक छ ।
अहिले इतर समुहका व्याक्तिहरुलाई पार्टीभित्रबाट जिम्मेवारीमुक्त गर्दै हटाउने र कार्वाही गर्ने कार्यले अरु दुरी बढाउँदै गएको कुरा पार्टी सभापतिले बुझ्नुपर्छ । यस्तो अवस्थाले पार्टी एक हुने भावनामा चोट पुऱ्याएको हुँदा त्यतातिर पनि सभापतिले ध्यान दिनु अपरिहार्य छ ।
काङ्ग्रेस सभापति गगन वास्तवमै गगन (आकाश)जस्तै विशाल र फराकिलो बन्नुपर्ने परिस्थिति छ । किनकि, उनले चाहे पार्टीमा सबै काङ्ग्रेस अटाउन सक्छन् । अन्यथा गगनको बचेखुचेको साख समाप्त हुने खतरा बढ्नेछ । अस्तु !
प्रतिक्रिया