अख्तियार आयुक्तमा कस्ता छानिएलान् ?

अख्तियार आयुक्तमा कस्ता छानिएलान् ?


आजभन्दा झन्डै सात महिनाअघि मैले आफ्नो लेखनीमार्फत संवैधानिक पदहरूमा दर्खास्त आह्वान गरेर मानिसको छनोट गरिनुपर्ने विचार राखेको थिएँ । त्यसमा विशेष रूपले मैले अख्तियारको नियुक्तिबारेमा कुरो उठाएको थिएँ । अख्तियारमा लगिने व्यक्ति आफैं नैतिक रूपमा शुद्ध, पैसाको बलमा नआएको, कुनै पार्टीको स्वार्थसिद्धिका लागि त्यहाँ नलगिएको र पदको दुरुपयोग गरी फटाइँ गर्ने सोचले पनि त्यहाँ नगएको व्यक्तिहरू हुनुपर्ने मेरो धारणा थियो । यसका साथै अख्तियारमा लगिने आयुक्तहरूको शपथअगाडि निजको आजभन्दा बीस वर्षअगाडि वा जागिर खाँदाको आर्थिक हैसियत के थियो र अहिले के छ भनेर विशेष रूपमै अध्ययन गरिनुपर्ने पनि मेरो धारणा थियो । त्यतिबेला त्यस्तो लेख्नुपर्ने कारण के थियो भने म आफैं सुरक्षासँग सम्बन्धित भएर उच्च तहमा रहँदा तत्कालीन अख्तियारप्रमुख सूर्यनाथ उपाध्यायको पालामा मैैले देखेको अख्तियार आफैं भ्रष्ट, षड्यन्त्रकारी, अव्यावसायिक र अपारदर्शी थियो । यो संस्था त्यतिबेला यो मुलुकको विकास र कर्मचारीतन्त्रलाई भताभुङ्ग पारी राजनीतिक हतियारको रूपमा शत्रु साध्नका लागि प्रयोग भएको एउटा फटाहा संस्थाबाहेक अरू दृष्टिकोणले तारिफ गर्न मिल्ने हालतमा थिएन । यही कुरा नजिकबाट देखे-भोगेको भरमा मैले त्यतिबेला त्यो लेखमार्फत अख्तियारको वास्तविक अवस्था चित्रण गर्दै त्यहाँ पठाइने मान्छे कुनै कालो अँध्यारो कोठामा बसेर कसैले स्वार्थवश पठाउन नसकुन् भन्ने हेतुले नै तयार पारेको थिएँ ।
आज वास्तवमै मैले त्यतिबेला लेखेजस्तै गरी अख्तियारमा हुने आयुक्तहरू निवेदन दिएर हुन पाइने व्यवस्था बनेको छ । त्यो व्यवस्था मेरो लेखका कारण मात्र भएको हो भन्ने म मान्दिनँ, किनकि त्यहाँ नियुक्ति दिने निकायहरू पनि आफूमाथि आएका अनेकौँ दबाबबाट बच्न उपाय खोज्दै थिए, तर पनि म आफ्नो विचारले पटक्कै काम गरेन होला भनेर विश्वास गर्ने पक्षमा भने छैन ।
हालै प्रधानमन्त्री कार्यालयबाट जब योग्य उम्मेदवारहरूले संवैधानिक पदका लागि निवेदन दिन आह्वान गरियो मलाई पनि त्यस पदको लागि आफू योग्य भएझैं लाग्यो । मसँग बीस वर्षको अनुसन्धान क्षेत्रमा काम गरेको अनुभव मात्र होइन दर्जनौं पेसागत तालिमका साथै प्रहरीको अनुसन्धान विद्यालयको इन्चार्ज भएको, उच्चतहको प्रथम श्रेणीका अधिकृतले गर्ने व्यवस्थापनको तालिम गरेको र आफू खटिएको हरेक स्थानमा इमानदारीका लागि जनताबाट नागरिक अभिनन्दन पाएको अनुभव पनि थियो । त्योभन्दा पनि मेरो ठूलो अनुभव अख्तियारद्वारा ममाथि झुटो आरोप लगाई त्यस संस्थाले आफ्नो पदको दुरुपयोग गरी कसैमाथि कतिसम्म अन्याय गर्न सक्छ भन्ने कुराको जिउँदो अनुभव पनि मसँग थियो । अख्तियार नै कसैमाथि अन्याय गर्ने सबैभन्दा ठूलो थलो हुन सक्छ त्यसैले त्यहाँ बस्नेले कसैमाथि आरोप लगाउँदा कसैको स्वार्थसिद्धि वा सस्तो लोकप्रियताका लागि आफ्नो अधिकारको दुरुपयोग गर्न हुँदैन भन्ने कुरा भोगेरै बुझेको मेरो अनुभव वास्तवमै त्यो पदमा जाने व्यक्तिका लागि सबैभन्दा बढी आवश्यक गुण हुन सक्ने पनि मैले ठहर गरेँ । यी सबै क्षमता र अनुभव आफूभित्र देखेपछि मैले पनि त्यसपदका लागि इन्टरनेट इमेलमार्फत आयुक्तमा नियुक्ति पाउन आवेदन दिने निर्णय गरेँ ।
म जब कम्प्युटरमा बसेर आवेदन लेख्न थालेँ त्यतिबेला मैले सोचेँ- आखिर म किन आवेदन हाल्दै छु – केका लागि हाल्दै छु ? मलाई सरकारले छनोट गर्‍यो भने म देशलाई के दिनेछु ? के म केवल जागिर खान त्यहाँ जाँदै छु ? वा, म त्यो पदमा पुगेर देशलाई केही दिन जाँदै छु ? यही सोच आएपछि मैले आफ्नो निवेदनमा लेखेँ- श्रीमान् मलाई त्यस पदमा नियुक्ति दिइए म निम्न कामहरू गर्न प्रयास गर्नेछु ।
१) म अख्तियारलाई पार्टीको राजनीतिक स्वार्थ या अन्य स्वार्थी जमातको हतियार भएर काम गर्ने संस्था बन्न दिने छैन ।
२) म अख्तियारलाई कुनै राजनीतिक गुट-उपगुटलाई कमजोर गर्न प्रयोग गर्न दिने छैन जसरी काङग्रेसमा कोइराला क्याम्पबाट छुटेर जाने छत्तीसेहरूमाथि मात्र तात्कालिक प्रमुख सूर्यनाथ भ्रष्टाचारको मुद्दा लगाउन सक्रिय भई गिरिजाप्रसाद कोइरालालाई भने लाउडा केशमा सफाइ दिन घरमै पुगेका थिए ।
३) म अख्तियारलाई कर्मचारीहरूविरुद्ध षड्यन्त्र गरी माथि पुग्ने व्यक्तिलाई अख्तियारमार्फत बिगारी अरूलाई माथि उक्लने अवसर मिलाइदिने जस्तो निच काम गर्ने छैन जसरी एमाले कर्मचारीहरूलाई माथि लैजान अर्थ मन्त्रालय र प्रहरीमा ताण्डव देखाइएको थियो ।
४) म अख्तियारलाई सबुतको आधारमा मात्र कसैमाथि आरोप लगाउने भारतको सीबीआई संस्थाझैं विश्वसनीय बनाउन काम गर्नेछु । त्यतिबेलाझैं बाबुबाजेका जमिनसमेत ‘तैंले नै जोडेको’ भन्दै प्रजिअहरूलाई दबाब दिएर जग्गाजमिनको झुटो मूल्याङ्कन बनाई कसैमाथि हावादारी मुद्दा लगाउने छैन ।
५) म अख्तियारलाई विकास रोक्ने बाधकतत्त्व बनाउने छैन जसरी सूर्यनाथको पालामा टेलिकमलगायत विभिन्न संस्थाहरूको काम रोकेर बिनाप्रमाण विकास कार्य रोक्ने गैरजिम्मेवारपूर्ण काम भएको थियो ।
६) म अख्तियारलाई झुटो उजुरी आफैं खडा गरी कुनै कर्मचारी वा व्यापारीहरूलाई त्यही पत्र देखाई ब्ल्याकमेल गर्दै पैसा उठाउने थलो बनाउन दिने छैन जुन काम तिनको पालामा हुने गर्दथ्यो ।
७) म अख्तियारलाई षड्यन्त्रकारीहरूको षड्यन्त्र सफल पार्ने हतियार बनाउन दिन्न जसरी सूर्यनाथको कार्यकालमा पुलिसका षड्यन्त्रकारीहरूले आफ्ना प्रतिद्वन्द्वीहरूलाई मास्न त्यस आयोगबाट सफल भएका थिए ।
८) म अख्तियारलाई राजनीतिक व्यक्तिहरूको अपराधलाई सफाइ दिने थलो बनाउन दिन्न जसरी सुडान काण्डमा तल्ला प्रहरी कर्मचारीहरूलाई फसाइ मूल दोषी सिटौलालगायतकालाई सफाइ दिने काम भएको थियो ।
९) म अख्तियारमार्फत भ्रष्टाचार रोक्ने कार्यलाई मन-मनमा पुर्‍याउन देशव्यापी सशक्त भ्रष्टाचार गर्न हुँदैन भन्ने भावना जगाउने शिक्षामूलक कार्यक्रम चलाउनेछु ।
१०) म अख्तियारमा नियुक्ति पाउन कुनै दल, कुनै नेता वा कुनै शक्तिकेन्द्रमा व्यक्तिगत रूपमा अनुनयविनय गर्न जाने छैन न कसैको फेवर नै माग्नेछु ।
माथिका दश कुरा राख्दै प्रधानमन्त्रीका नाममा निवेदन लेखी त्यसलाई पठाउनुअघि श्रीमतीसँग सल्लाह गरेँ । अख्तियार नाम सुन्नेबित्तिकै त्यो संस्थाले निर्दोष परिवारसमेतलाई जलिल तुल्याउँदै बद्नाम र आँसु दिएको कुरा सायद उनले सम्झिन् र नमिठो अनुहार लगाइन् । उनले भनिन्- जुन ठायँलाई नेताहरूले नै पाप गर्न प्रयोग गरेका छन् त्यहाँ तपाईं गएर के गर्न सक्नुहुन्छ – पहिलो तपाईंलाई छान्दै छान्दैनन्, दोस्रो तपाईंले काम गर्न नै सक्नुहुन्न । वश हामीले ड्रग्सबाट मानिसलाई बचाउन लिएको बाटोमै बाँकी जीवन बिताऊँ । यहाँ कसैलाई रुवाउन त पर्दैन । कसैलाई अन्याय गर्ने सम्भावना पनि रहँदैन ।
किन-किन मलाई श्रीमतीको कुरा ठिकै लाग्यो । मैले ‘सेण्ड’मा पुर्‍याएको कम्प्युटरको क्रसरलाई रोकेँ । यद्यपि त्यहाँ गएर नै त्यहाँको सुधार हुन सक्थ्यो तर बाँकी आठ-दश वर्षको सक्रिय जीवन मैले ड्रग्सविरुद्धको अभियानलाई नै दिने निर्णय गरेँ । तर, यो कुरा साँचो हो कि मैले पनि अख्तियारको आयुक्तलाई निवेदनचाहिँ लेखेको थिएँ ।
संवैधानिक पदहरू अहिले खाली छ । छिट्टै त्यसमा पदपर्ूर्ति गर्ने हल्ला पनि चलिरहेको छ । कतिले त भ्रष्टाचार बढेको संवैधानिक पदमा नियुक्ति समयमा नभएर पनि हो भनेर अर्थाउने पनि गरेका छन्, तर मेरो विचारमा संवैधानिक पद भरिँदैमा भ्रष्टाचार नियन्त्रण हुँदैन । भ्रष्टाचार केवल अख्तियारले नियन्त्रण गर्ने पनि होइन । यो एउटा सोच हो र यो सोच यो समाजमा धेरै वर्षदेखि उम्रिँदै, बढ्दै र झाँगिँदै आएको हो । एकै दिनमा जापानका मानिसमा झै नेपालमा भ्रष्टाचार गर्न हुन्न भन्ने सोच नेपालीमा आउने छैन, न त्यहाँका नेतामा झैं आफूमाथि भ्रष्टाचारको आरोप लाग्नेबित्तिकै राजीनामा दिने नैतिकता नै यहाँका नेताहरूमा देखापर्नेछ ।
यो कुरा कसैबाट लुकेको छैन कि राजनीतिक दलहरूले त्यहाँ पठाउने मानिस नाफाका आधारमा नै पठाउनेछन् । पहिलो, ऊ त्यो दलको कार्यकर्ता हुनुपर्छ । दोस्रो, उसले त्यो पार्टीलाई आर्थिक वा राजनीतिक फाइदा पुर्‍याउनुपर्छ । तेस्रो, त्यो पार्टीलाई भ्रष्टाचारको आरोप लागे त्यसबाट जोगाइदिनुपर्छ र चौथो पार्टीलाई फाइदा पुग्ने भए अरूलाई मुद्दामा फसाइ पनि दिनुपर्छ । यति धेरै र्सतहरू मान्नुपर्छ भन्ने कुरा निवेदन दिनेहरूमध्ये धेरैले नबुझेका पनि हुन सक्छन् । तर, मलाई लाग्छ अहिले पनि तिनै व्यक्तिले नियुक्ति पाउनेछन् जसले हिजो मैले माथि उल्लेख गरेका र्सतहरू मान्न स्वीकार गरेका छन् । जो व्यक्तिहरूले माथिका र्सतहरू स्वीकार गरी त्यहाँ जानेछन् उनीहरू पनि सूर्यनाथकै चरित्र बोक्न बाध्य हुनेछन् । केहीलाई कारबाही गरेजस्तो गर्‍यो, कारबाहीभन्दा बढी हल्ला गरायो, भित्री रूपले बेस्सरी कमाइ गर्‍यो अनि एउटा पार्टीको झण्डामुनि रहेर राजदूत बन्न प्रयास गर्‍यो ।
हिजो राजनीतिक पार्टीहरूले कुनै गलत मान्छे त्यहाँ लाँदा उनीहरूमाथि आरोप पनि लाग्न सक्थ्यो तर आज निवेदन दिएकाहरूमध्ये योग्यताको आधारमा छानेका हौँ भनेर बच्ने स्थिति पनि बनेको छ । त्यसैले मलगायत धेरै नेपालीलाई यो लागिरहेको छ कि निवेदन दिनेहरूमध्ये धेरैले आफ्नो डिग्री, अनुभव, विशेषज्ञतालाई आधार मानेर त्यस पदमा आफूले नियुक्ति पाउने आशा लिए पनि त्यस्तै हुन्छ भन्नेचाहिँ कमै सम्भावना होला ।
नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न जाने व्यक्ति पहिला आफैं भ्रष्ट नहोस् र समग्र मुलुकवासीलाई भ्रष्टाचार गर्न हुँदैन भनेर प्रेरणा दिन, शिक्षित गर्न र दण्ड दिन समर्थ होस् र पदको दुरुपयोग गरेर कसैमाथि अन्याय नगरोस् भन्नेचाहिँ आमनेपालीको सोचाइ र चाहना रहेको छ ।