दार्चुलामा तुइन काटेको घटनाबारे वास्तविकता सार्वजनिक गर्न काङ्ग्रेसको माग

दार्चुलामा तुइन काटेको घटनाबारे वास्तविकता सार्वजनिक गर्न काङ्ग्रेसको माग



सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति नेपाली काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्कपश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको काङ्ग्रेसले जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा सम्वाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन पार्टीका तर्फबाट उनले सरकारसँग माग गरेका छन् ।

आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास प्रवक्ता शर्माले प्रकट गरेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनका निजी सचिव नरेन्द्र केसीले जानकारी दिएका छन् ।

स्थानीय प्रशासनले दार्चुला जिल्लाको व्यास गाउँपालिका-२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको जानकारी प्राप्त भएको जनाएको छ । तर स्थानीयवासीले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वेपत्ता भएको आरोप लगाएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टको भनाइचाहिँ भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको भन्ने छ । घटनास्थलमा ससस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअनुसार भारतीय एसएसबीसमेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै नेपाली पक्षबाट पत्राचार गरिएको छ ।