एनआरएन बेल्जियमको निर्वाचन मतपरिणाम पुनर्गणना गर्न माग

एनआरएन बेल्जियमको निर्वाचन मतपरिणाम पुनर्गणना गर्न माग


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचनका सबै प्रक्रियामा सम्बन्धित मतदाताहरूले समेत विभिन्न आशंका गरिरहेको अवस्थामा मतगणना प्रक्रियामा धाँधली भएको दाबी गर्दै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका रमेश सापकोटाले पुनः मतगणनाका लागि निर्वाचन समिति समक्ष आवेदन दिएका छन् ।

गत जुलाई २५ मा सम्पन्न निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार सापकोटा पाँच मतले पराजित भएका थिए । मत जोड्ने कार्यमा त्रुटी भएको भन्दै सामाजिक सञ्जालमार्फत समेत निर्वाचन प्रक्रियामाथि प्रश्नचिन्ह खडा गरिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार उपाध्यक्षका प्रत्यासीहरू कासी दनैले ६६८, रमेश सापकोटाले ६८१, तीर्थ धमलाले ६८६ र लाल गुरुङले ७१८ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले बढी मत ल्याउने दुईमध्ये लाल गुरुङ र तीर्थ धमलालाई विजयी घोषणा गरेको थियो । विजयी गुरुङ र धमला स्वतन्त्र समावेशी समुहबाट चुनाव लडेका व्यक्ति हुन् भने पराजित दुवै जना लोकतान्त्रिक समावेशी समुहबाट ।

निर्वाचन घोषणा परिणामको अन्तिम चरणमा आफूले प्रश्न उठाउन खोज्दा सदस्यसचिव शिव बरुवालले आफूहरू बसेको टेबुलमा कोही पनि नबस्न भन्दै खेदेको र आफ्नो साथी कासी दनैले गल्ती छ भनिसकेपछि पुनः धमलाको पक्षमा जोडिएको ४० मत कम गरेको सापकोटा बताउँछन् । उनी भन्छन्- ‘मतगणनामा धेरै शंका गर्ने ठाउँ छ ।’

पुनः मतगणना गरि पाउँ भन्ने विषयमा दिएको निवेदनमा सापकोटाले निर्वाचन आयोगप्रति आफू पूर्ण विश्वस्त हुन नसकेको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगका आयुक्त लोक दाहालले सापकोटाले पुनः मत गणना गरिपाउँ भनि निवेदन दिएको पुष्टि गर्दै निवेदन प्राप्त भएपश्चात आफूहरू बुधबार र बिहीबार तीन पटक अनलाइन बैठक बसेको, बैठकमा भएको निर्णयअनुसार आफुहरूले अब केही गर्न नसक्ने बताए । अहिलेको अवस्थामा पुनः मतगणना हुन नसक्ने दाहालको भनाइ थियो ।

उनका अनुसार मत परिणाम घोषणा गर्नुपूर्व सबै उम्मेदवारहरूलाई मत परिणाममा कुनै दाबीविरोध भए गर्न र नगर्ने भए हस्ताक्षर गर्न भनेको, सो क्रममा सापकोटाले नै सबैभन्दा पहिले हस्ताक्षर गरेको दाहालले जिकिर गरे । शंका भए त सोही समयमा गर्नुपर्ने, परिणाम घोषणा गरिसकेपछि यसको खासै अर्थ नहुने उनको तर्क छ ।

त्यस्तै आयुक्त दाहालले सापकोटाले केन्द्रमा समेत पुनः मतगणनाका लागि आवेदन दिएको र केन्द्रले आवश्यक निर्देशन दिएमा आफूहरूले सोहीअनुसार गर्ने जानकारी दिए । आयुक्त दाहालले सापकोटालाई चित्त नबुझे अदालत जान सक्ने सुझाव पनि दिए ।

दाहाल भन्छन्- ‘हामीले मतगणनाका सबै प्रमाण सुरक्षित राखेका छौँ, चाहिएमा उपलब्ध गराउन सक्छौँ ।’

सापकोटाका निवेदनमा केन्द्रीय अध्यक्ष कुमार पन्त, महासचिव देवराज शर्मा, केन्द्रीय अनुगमन प्रतिनिधि जानकी गुरुङ र अनुगमन समितिका संयोजक गंगाधर गौतमलाई बोधार्थ दिएका छन् ।

यसैबीच निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी नक्कली डकुमेण्ट बनाइ समाजलाई भ्रमित गर्न खोजेको आरोप लगाएको छ । कुनै अमुक राजनीतिक पार्टीको झल्को दिने गरी प्रसारित विज्ञप्तिमा नक्कली चार्ट तयार गरी समाजलाई भ्रमित पार्ने समुह र व्यक्तिसँग समुदायलाई सजग रहन अनुरोध गरेको छ ।

लोकतान्त्रिक समावेशी समुहले सदस्यता वितरण प्रक्रियादेखि नै धाँधली भएको भन्दै आरोप लगाइरहेको छ । त्यस्तै, आफ्नो मतदाताहरूको नाम नामावलीबाट नै गायब गरिएको, सदस्यता लिनका लागि प्रक्रियाभित्र छिरेका ४५० भन्दा बढीलाई सदस्यता दिनबाट वञ्चित गरेको, विभिन्न समयमा प्रकाशित मतदाता नामावलीमा एकपछि अर्को गर्दै अन्तिम चरणसम्म फरक-फरक प्रकाशन गरेको, पहिले एउटा मतदान केन्द्रमा भएको नामावलीपछि अर्को ठाउँमा सारेर पञ्जिकृत सदस्यहरूलाई मतदान प्रक्रियाबाट अलग गर्न खोजेको लगायत आरोप लगाउँदै आएको छ ।

गत मंगलबार मतपरिणाम सार्वजनिक गर्नुअघि गरिएको मतको जोडमा पनि धमलाको नाममा ४० मत बढी जोडिएको थियो । पछि प्रत्यासी कासी दनैले धमलाको जोड मिल्दैन, बढी मत देखिएको छ भनी औंल्याएपछि पुनः जोड गर्दा धमलाको पक्षमा ४० मत बढी जोडिएको पुष्टि भएर त्यसलाई घटाइएको थियो ।