एनआरएनए बेल्जियममा अन्ततः सबैले लिए शपथ

एनआरएनए बेल्जियममा अन्ततः सबैले लिए शपथ


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र वितरणका साथै गोपनियताको शपथ दिलाएको छ ।

निर्वाचन आयोगका आयुक्त एवम् एनआरएनएका केन्द्रीय सहकोषाध्यक्ष लोक दाहालले गैरआवासीय नेपाली संघ बेल्जियमको सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आइतबार प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने केन्द्रीय उपाध्यक्ष अर्जुन श्रेष्ठले पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो ।

कार्यक्रममा मन्तव्य दिँदै केन्द्रीय उपाध्यक्ष श्रेष्ठले अहिले संगठनमा संस्कारको आवश्यकता भएको महसूस गरिएको हुँदा सबैले यसप्रति गम्भीर हुन आवश्यक रहेको सुझाव दिनुभयो । संघमा आवद्ध सबै सदस्यले मेरो र आफ्नो भन्ने मनोवृत्तिलाई परिवर्तन गर्न अपरिहार्य रहेको उहाँले बताउनुभयो । सम्पन्न निर्वाचनले अधिकांश स्थानमा महिला र युवाहरूको सशक्त समुहलाई छनौट गरेको हुँदा यो समुहले आगामी पुस्तालाई रुपान्तरण गर्न ठुलो भूमिका निर्वाह गर्न सक्नेमा श्रेष्ठले जोड दिनुभयो ।

यस्तै, निर्वाचन आयुक्त लोक दाहालले निर्वाचनमा भएका केही त्रुटीलाई स्विकार्दै विद्युतीय प्रणालीमार्फत मतदान गर्ने योजना सफल हुन नसकेको बारे प्रष्टिकरण दिँदै आफूहरू डिजीटल पद्धतिमा काम गर्न तयार रहे पनि केही साथीहरूको अविश्वासका कारण उक्त प्रविधिमा जान नसकिएको खुलासा गर्नुभयो ।

दाहालले आफू आईसीसीको जिम्मेवार पदमा समेत रहेको हुँदा एनआरएनए बेल्जियमले सुम्पेको निर्वाचनसम्बन्धी जिम्मेवारी चुनौतीपूर्ण रहेको र यसलाई निष्पक्ष तथा स्वतन्त्र रुपमा सम्पन्न गर्न दृढ रहेको बताउँदै आफुहरूले समितिले दिएको २,१६२ सदस्यहरूलाई नै आधार मानेर निर्वाचन गराएको जानकारी दिनुभयो । रातारात सदस्य बढाउने या घटाउने काम आफुहरूको नभएको भन्दै उहाँले नवनिर्वाचित समितिमा युवाहरूको प्रवेश भएकोले युवाकेन्द्रीत काम गर्न सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले निर्वाचित सबैलाई शुभकामना दिँदै निर्वाचन प्रक्रियामा जाँदा धेरै कुरा भोग्नुपरेको अनुभव सुनाउँदै निर्वाचनपश्चात सामुहिक अभियान जागृत भएको बेला गल्ती–कमजोरी के भयो भन्ने विषयलाई सकारात्मक रुपले लिनुपर्ने र भविष्यमा यस्ता कुरा नदोहोरिन सजग रहनुपर्ने धारणा राख्नुभयो । उहाँले सामुहिक काम गर्दा अरुको कुरा सुन्न र आफ्ना कुरा नीति, नियम, विधान, पद्धति एवम् सामुहिक भावनालाई प्रतिनिधित्व गर्दा आत्मसम्मान जार्गत हुने बताउनुभयो ।

निवर्तमान अध्यक्ष चित्र सुवेदीले सबै मतदाताको मनोभावनाअनुसार सर्वसम्मतिका लागि आफूहरूले प्रयत्न गरे पनि टुङ्गोमा पुऱ्याउन नसकेको र यसमा पनि कमी–कमजोरी भएको बताउँदै मतदानका क्रममा भएको घटनाले सबैको शीर निहुराएको बताउनुभयो । उहाँले व्यक्तिप्रधान नभएर संस्थाप्रधान भएर काम गर्न नवनिर्वाचित समितिलाई सुझाव दिनुभयो ।

कार्यक्रममा आइसीसी सदस्य सुवास जोशी, अनुजा प्रधान र अनुगमन समितिका संयोजक गंगाधर गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।

फरक समूहले बहिष्कार गर्ने हल्ला !

सदस्यता वितरण लगायत मतगणनामा समेत धाँधली भएको आरोप लगाउँदै आएको लोकतान्त्रिक समावेशी समुह (नेपाली कांग्रेस, नेकपा माओवादी, संघीय समाजवादी पार्टी र माधव नेपाल समुह) ले गत शनिबार दिनभरि र आइतबारसमेत निर्वाचन समितिले आयोजना गर्ने प्रमाणपत्र वितरण र शपथ लिने कार्यक्रमलाई बहिष्कार गर्ने हल्ला चलाए तापनि अन्तिममा सबै निर्वाचित उम्मेदवारहरू उपस्थित हुन पुगेका थिए ।

बहिष्कार गर्ने विषयमा वैचारिक समुहका नेतृत्वकर्ताहरूबीच कुरा बाझिएपछि यो विषय पेचिलो बन्दै गएको थियो । त्यस्तै निर्वाचित पदाधिकारी एवंम् सदस्यहरूले निर्वाचन परिणाम घोषणा भइसकेपछि बहिष्कार गर्नुको खासै औचित्य नहुने भनेर समुहमा दबाब दिएपछि अन्ततः सबै उपस्थित भएका थिए ।

कार्यक्रमको शुरुवातमा आएका आइसीसी सदस्यद्वय गंगा शर्मा र भीम जोशीबाहेक कार्यक्रम स्थलमा कसैको उपस्थिति नदेखिए पनि पछि सबैको उपस्थिति भएको थियो ।

पछिल्लो समयमा उपाध्यक्ष पदका प्रत्यासी रमेश सापकोटा पाँच मतले पराजित भएपछि मतगणनामाथि शंका लागेको भनी उनले निर्वाचन समिति र केन्द्रीय समितिमा निवेदन दिएपछि कतिपयले उपाध्यक्ष पदका प्रत्यासी तीर्थ धमलाको प्रमणपत्र र शपथ रोकिने लख काटेका थिए । निर्वाचन समितिले एउटा पक्षले कार्यक्रम बहिष्कार गर्दा यसको सन्देश समाजमा राम्रो नजाने भन्दै आइतबार बिहान समेत सापकोटालाई चित्त नबुझेको विषयमा छलफल गर्न आफूहरु तयार रहेको र सोको लागि दुई पक्ष बसेर छलफल गरौँ भन्दा सापकोटा पक्ष छलफलमा नआएको जनाएको छ ।

आजका मितिबाट निर्वाचन समितिको जिम्मेवारी सकिएपछि अब यो विषय केन्द्रमा प्रवेश गर्नेछ । धमलालाई प्रमाणपत्र दिन र गोपनियताको शपथ खुवाउन रोक्ने खासै आधार नभएपछि उनलाई समेत सपथ खुवाइएको छ । अबका दिनमा यो सवाल केन्द्रले हेर्ने बताइएको छ ।

सम्भवतः केन्द्रले एउटा सानो समिति बनाएर यसको तत्काल निराकरण गर्न सक्ने देखिएको छ । निर्वाचन समितिले भने निर्वाचन र मतगणना प्रकृया सामाजिक संजाल र बाहिर फिँजाइएको हल्लामा कुनै सत्यता नरहेको बताएको थियो ।

निर्वाचित सदस्यहरूको नामावली :