मनग्गे आम्दानी भएपछि डडेल्धुराका किसान आलुखेतीतर्फ आकर्षित

मनग्गे आम्दानी भएपछि डडेल्धुराका किसान आलुखेतीतर्फ आकर्षित


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा आलुखेती फस्टाउँदै गएको छ । परम्परागत रूपमा गहुँ र मकै खेती गर्दै आएका ग्रामीण क्षेत्रका कृषकहरू पछिल्लो समय व्यवसायिक रूपमा आलुखेती गर्दै आएका छन् । ग्रामीण क्षेत्रका किसानले आलु तरकारी उत्पादन गरी मनग्गे आम्दानी पनि गरेका छन् ।

आलिताल गाउँपालिका र युएनडिपीको सहकार्यमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल नामक संस्थाको आर्थिक सहयोगमा डडेल्धुरा ग्रामीण क्षेत्रका किसानले आलु तरकारी उत्पादन गरी मनग्गे आम्दानी पनि गरेका छन् । जिल्लाको आलिताल गाउँपालिका–१ तोलीका अगुवा कृषक तुलाराम बोहराले आलुखेती गरेर करिव अढाई लाखबराबर आयआर्जन गर्न सफल भएका छन् ।

गाउँपालिका र सामाजिक वातावरण तथा उद्यम विकास समाज (सिड्स) नेपालले संयुक्त रुपमा कार्डिनल जातको आलुबीउ, औषधिलगायत प्राविधिक सहयोग गरेपछि वर्षेबालीको रुपमा रहेको आलु उत्पादन गरेर बिक्री भएसँगै बेमौसमी आलुखेतीबाट सात सदस्यीय परिवारको सम्पूर्ण घरखर्च टार्नुका साथै ऋणबाट पनि मुक्त भएको बोहराको भनाइ छ ।

परम्परागत खेती गहुँ र मकैमा सीमित भयौँ, आलुबाट प्रत्यक्ष फाइदा छ भने आलुखेती किन नगर्ने ? भन्छन् बोहरा । आलुखेतीमा जति सजिलो छ अरुमा त्यति छैन कम परिश्रममा अधिक लाभ लिन सकिने भएकोले गाउँभरिका अरु कृषक पनि आलुखेतीमा आकर्षित भएको बताउँछन् बोहरा ।

यसैगरी तोलीकै अर्का कृषक सरस्वती बोहराले पनि आलुखेतीलाई प्राथमिकता दिएकी छन् भने एकल महिला कौशादेवी बोहरा पनि थोरै जमिनमा पनि २० क्वीन्टल आलु उत्पादन भएपछि हर्षित भएकी छन् । एक क्वीन्टल बीउबाट १२ देखि १५ क्वीन्टल सम्म आम्दानी भएपछि गाउँका युवा महिला सबै आलुखेतीबाट मनग्गे आयआर्जन गर्न सफल भएको संस्थाका अध्यक्ष शारदा रावलले जानकारी दिइन् ।

किसानलाई आलु खेतीमा उत्प्रेरणा दिँदै आलु खेतीमा लागेका गाङखेत तोलीका किसानहरूलाई आवश्यक सहजीकरण र सहयोग गरेपछि उनिहरूको जीनवशैलीमा पनि परिवर्तन आएको सिड्स नेपालका परियोजना संयोजक देवीलाल उपाध्यायले बताए ।

तरकारी उत्पादनका लागि उर्बर मानिने गाङखेतको तोलीका बोहराले आलुसँगै मूला, काउली, बन्दा, रायो, लसुन, प्याज, सिमी, टमाटर, काँक्रो र खुर्सानी खेती गरेर बोहराले अतिरिक्त रुपमा हजारौँ रुपैयाँ आर्जन गरेका छन् । भीमदत्त राजमार्गअन्तर्गत गैरा बजारनजिकैबाट आधा घण्टाको दूरीमा रहेको तोलीका किसानहरू परम्परागत अन्नबाली भन्दा तरकारी खेतीबाट चौगुणा मुनाफा हुने भएकोले राजमार्ग जोडिएको बजारसँगै रहेका आलितालका सैंयौँ परिवार व्यवसायिक विषादीरहित तरकारी खेतीमा लागेका छन् ।

आलिताल गाउँपालिकाका विभिन्न उत्पादकत्व भएका तरकारी सम्भावित क्षेत्रमा गाउँपालिकाले पनि संस्थाहरूको सहकार्यमा प्रत्येक वर्ष प्राथमिकताका साथ कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्रबद्र्धन गर्दै लगिरहेको जनाएको छ ।