सिन्धुपाल्चोकको मेलम्ची खोलामा शनिबारदेखि आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । चनौटे ग्याल्थुम र ढुङ्ग्रेर बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्ग्रेर बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिए । जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह गरिएको छ ।
बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका-१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ ।
त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात छ । हेलम्बु-२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं १ र २ जोड्ने घट्टेखोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो ।

- तस्बिर रासस
प्रतिक्रिया