ओलम्पिकमा कहिलेसम्म ब्यक्तिगत कीर्तिमानमा रमाउने ?

ओलम्पिकमा कहिलेसम्म ब्यक्तिगत कीर्तिमानमा रमाउने ?



टोकियो ओलम्पिक २०२० सहभागिता जनाएका पाँच खेलाडीमध्ये पौडीका एलेक्स शाह, गौरिका सिंह र सुटिङकी कल्पना परियारले व्यक्तिगत राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि त्यसमा सन्तुष्टि गर्ने अवस्था छैन । यी तीन जना खेलाडीले ओलम्पिकमा झिनो स्कोर, केही सेकेन्ड र मिली सेकेन्डले मात्रै आफ्नो व्यक्तिगत कीर्तिमानमा सुधार गरेका हुन् । यसको तुलना अन्तर्राष्ट्रि स्तरमा आयोजना हुने कुनै पनि ठूला प्रतियोगितामा राखिएका कीर्तिमानसँग गर्न सकिँदैन । साँचो अर्थमा भन्नुपर्दा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा समेत यो राष्ट्रिय कीर्तिमानमा भएको सुधारले पदक जित्न सकिँदैन ।

टोकियो ओलम्पिकमा व्यक्तिगत प्रदर्शनमा सुुधार गरेकी सुटिङकी कल्पना परियारले ओलम्पिकमा ६१६.८ को स्कोर गरिन् । नेपालमा सम्पन्न १३औँ सागमा कल्पनाले ६१४.५ को स्कोर गरेकी थिइन् । सागमा यति स्कोर बनाउँदा कल्पना पदकविहीन बन्नु परेको थियो । कल्पनाले १३औँ सागमा गरेको यो स्कोर पदक जित्नको लागि पर्याप्त थिएन् । अहिले टोकियो ओलम्पिकमा कल्पनाले गरेको ६१६.८ को स्कोरले सागमा पदक जित्न सक्छ ? कीर्तिमान बनाएकी खेलाडीबाटसमक्ष प्रश्न खडा हुनु स्वभाविकै हो । तर उत्तर निकै सरल छ– ‘कल्पनाले ओलम्पिकमा खडा गरेको स्कोरले पनि सागमा पदक जित्न सक्तैन ।’ त्यो कुरा १३औँ सागमा अन्य विदेशी खेलाडीले गरेको स्कोेर र त्यसपछि प्राप्त गरेको पदकबाट प्रस्ट रूपमा थाहा पाउन सकिन्छ ।

त्यस्तै, पौडीका एलेक्स शाहले टोकियो ओलम्पिकमा सहभागी पाँच नेपाली खेलाडीमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका छन् । १०० मिटर फ्रिस्टाइलतर्फ प्रतिस्पर्धा गरेका एलेक्सले ५३.४१ सेकेन्ड उक्त दूरी पूरा गरेका थिए । यसअघि उनको रेकर्ड ५६.२८ सेकेण्डको थियो । आफ्नो व्यक्तिगत प्रदर्शनमा २.८७ सेकेण्ड सुधार गरेका एलेक्सको यो सुधारलाई सकारात्मक र उपलब्धिमुलक मान्न सकिन्छ । किनकि पौडीमा मिलि सेकेण्डको पनि धेरै ठूलो महत्व हुन्छ । तर एलेक्सले आफ्नो व्यक्तिगत कीर्तिमानमा फराकिलो सुधार गरे पनि त्यो साग गेममा पदक जित्न पर्याप्त छ कि छैन भन्ने सावल गम्भीर छ ।

१३औँ सागमा चार स्वर्ण र यति नै रजत पदक जितेर कीर्तिमान कायम गरेकी गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नो व्यक्तिगत कीर्तिमानमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । १०० मिटर फ्रिस्टाइलतर्फ प्रतिस्पर्धा गरेकी गौरिकाले टोकियो ओलम्पिकमा १ मिनेट ११ मिलि सेकेण्ड सो दूरी पूरा गरेकी थिइन् । यो भन्दाअघि गौरिकाकै नाममा १ मिनेट ६२ मिलिसेकेण्डको कीर्तिमान थियो । उनले आफ्नो व्यक्तिगत प्रदर्शनमा ५२ मिलिसेकेण्डको सुधार गरे पनि गौरिका जस्तो चर्चित खेलाडीबाट सागबाहेक अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको आशा गर्न सकिन्छ ? प्रश्न उठेको छ ।

नेपाली खेलाडीहरूले टोकियो ओलम्पिकमा यस्तो प्रदर्शन गरेपछि अहिले उठेका थुप्रै प्रश्नमध्ये ‘ओलम्पिकमा कहिलेसम्म व्यक्तिगत कीर्तिमानमा रमाउने ?’ भन्ने प्रश्न प्रमुृख बनेको छ । स्वदेशी र विदेशी लगानीअनुरुप ती खेलाडी कति खरो उत्रिए त्यो अर्को अहम मुद्दा बनेको छ । यसतर्फ सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले सही विश्लेषण र समीक्षा गर्नुपर्ने आवश्यक भइसकेको छ । अन्यथा युनिभर्सल कोटा र वाइल्ड कार्डको भरमा ओलम्पिकका नेपालको झण्डा फहराउने सपना देख्नु त्यो दिवास्वप्न मात्रै हुनेछ । यदि यस्तै ताल र सुरमा नेपाली खेलकुद अगाडि बढ्ने हो भने आउँदो एक शताब्दी (सन् २१२१)सम्म पनि नेपालले ओलम्पिकमा पदक जित्न सक्तैन भन्दा अतिसयोक्ति नहोला ।