नेपाल र भारतसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने युएई सरकारको निर्णय

नेपाल र भारतसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने युएई सरकारको निर्णय



संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ ।

कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो ।

यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् ।

यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए)ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ, “यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड-१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।” तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ ।

मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।

संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायी रूपमा रोक लगाइएको थियो ।