सुरक्षाको कारण देखाउँदै बेलारुसकी खेलाडीले स्वदेश फर्कन अस्वीकार गरेपछि…

सुरक्षाको कारण देखाउँदै बेलारुसकी खेलाडीले स्वदेश फर्कन अस्वीकार गरेपछि…


  • जापान प्रतिनिधि, टोकियो

टोकियो ओलम्पिकमा सहभागी हुन आएकी बेलारुसकी खेलाडी क्रिस्टिनाले आफ्नो मुलुक फर्किए सुरक्षा जोखिम रहेको भन्दै तेस्रो मुलुकमा शरण लिने इच्छा दर्शाएबमोजिम टोकियोस्थित पोल्याण्डको राजदूतावासमा आश्रय लिएकोमा उनी आज (अगस्ट ४) त्यहाँबाट निस्किएको बुझिएको छ ।

एनएचके अनलाइनमा प्रकाशित समाचारका अनुसार उनी चढेको कार आज जापानी समयअनुसार बिहान ७ बजेपछि पोलीस राजदुतावासबाट निस्किएको छ । पोल्याण्ड सरकारले यसअघि नै उनको आश्रय स्विकार गरेको र मानवियताका कारण उनलाई पोल्याण्डमा रहने व्यवस्था गरिने घोषणा गरिसकेको छ ।

उनलाई जापानबाट पोल्याण्ड पठाउने योजना रहेको थियो । सोअनुरुप जापानी समयअनुसार बिहान ८ बजेपछि नारिता बिमानस्थलको टर्मिनल १ मा देखिएकी उनि पोल्याण्डतर्फ प्रस्थान गरेको बुझिएको छ ।

क्रिस्टिनाले टोकियो ओलम्पिकमा सहभागिता जनाउने क्रममा बेलारुसी प्रशासन तथा खेल व्यवस्थापनविरुद्ध सामाजिक संजालमा प्रतिवाद गरेकी थिइन् । जसका कारण उनलाई जबर्जस्ती देश फर्काउन लागिएको थियो । तर हानेदा विमानस्थमा पुगी उनले बेलारुस जाँदा आफ्नो सुरक्षामा खतरा रहेको भन्दै प्रहरीको सहयोग मागेकी थिइन् ।

त्यसपछि मुलुक नफर्किने मनस्थितिमा पुगेकी क्रिस्टिनालाई उनको छिमेकी मुलुक पोल्याण्डले आश्रय दिने घोषणा गरेको थियो ।

(माथिको तस्बिर बेलारुस पठाउन खोज्दा क्रिस्टिनाले अस्वीकार गर्दाको हो भने तल प्रस्तुत गरिउको तस्बिर आज पोल्याण्ड प्रस्थान गर्नलाग्दाको हो । – सं.)