फेरि सारिँदै महाधिवेशन, नीतिगत नभइ नेतागत बहसमा केन्द्रीत !

फेरि सारिँदै महाधिवेशन, नीतिगत नभइ नेतागत बहसमा केन्द्रीत !



नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन हुने निश्चित भए पनि त्यसको मिति अझै अनिश्चित छ । सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गरिने प्रतिबद्धता सार्वजनिक रूपमै प्रकट गर्नुभएको छ, तर कहिले कुन मितिमा अधिवेशन गर्ने भन्ने विषयमा भने उहाँले स्पष्ट गर्नुभएको छैन । प्राप्त जानकारीअनुसार आगामी भाद्र महिनाको तेस्रो या चौथो सातामा वडा तहको अधिवेशन सम्पन्न गर्ने सोच पार्टी नेतृत्वले बनाएको छ । दशैँअघि नै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गरिसक्ने र पौषको तेस्रो सातासम्ममा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने बारेमा पार्टीका उच्च नेताहरूबीच प्रारम्भिक सहमति बनेको बताइन्छ । यसअघि काङ्ग्रेसले निर्धारण गरेको मिति (भदौ दोस्रो साता)मा महाधिवेशन नगरिने भएपछि तत्काल अर्को मिति तोक्न काङ्ग्रेसका एकथरी नेताहरूको तीव्र दबाब परेको थियो । खासगरी डा. शेखर कोइरालाले महाधिवेशन शीघ्रातिशीघ्र सम्पन्न गर्न दबाब दिँदै आउनुभएको छ । तर सभापति देउवा दोहोरो जिम्मेवारीमा पर्नुभएकोले मन्त्री मण्डललाई पूर्णता दिइएपछि महााधिवेशनको मिति निर्धारण गर्नुहुने बुझिएको छ ।

काङ्ग्रेस महाधिवेशनमा नीति र विचारलाई लिएर कुनै छलफल नहुने स्थिति यथावत छ । केही दशकयता काङ्ग्रेसका महाधिवेशनहरूले नीतिगतभन्दा नेतागत विषयमा आफ्नो चासो केन्द्रीत गर्दै आएको छ । काङ्ग्रेसको सिङ्गै केन्द्रीय समितिभित्र शङ्कर भण्डारी र डा. नारायण खड्काले मात्र नीतिगत विषयमा जोड दिँदै आउनुभएको छ । नेता भण्डारीले काङ्ग्रेस हिन्दूराष्ट्र स्थापना र प्रादेशिक संरचना खारेजीका पक्षमा उभिनुपर्ने बताउँदै आउनुभएको छ र, उहाँले सोही एजेण्डा लिएर महाधविशेनमा उम्मेदवार बन्ने तयारी समेत गर्नुभएको छ । डा. नारायण खड्का या अन्य कुनै वरिष्ठ नेताले हिन्दूराष्ट्रको एजेण्डासहित सभापतिको उम्मेदवार नदिएमा भण्डारी आफैंले सभापतिमा उम्मेदवारी दिनेबारे विचार विमर्श भइरहेको बताइएको छ ।

चौधौँ महाधिवेशनमा दर्जन हाराहारीमा सभापतिको उम्मेदवार प्रकट हुने सम्भावना छ । सम्भावित उम्मेदवारहरूमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, डा. रामशरण महत, अर्जुन नरसिंह केसी, डा. नारायण खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, शङ्कर भण्डारी, सुजाता कोइराला, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र कल्याण गुरुङगको नाम चर्चामा छ । तर सुजाता कोइराला ‘राम्रो’ मन्त्रालय पाए सभापतिमा उम्मेदवारी नदिने मानसिकतामा रहनुभएको बुझिन्छ । सुजाताले उपप्रधानमनत्रीको हैसियतसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने रुचि देखाउँदै आउनुभएको छ । सभापतिका सम्भावित उम्मेदवारमध्ये डा. नारायण खड्काको नाम मात्र मन्त्री बन्ने नेताका रूपमा चर्चामा आएको छ ।

सभापतिका दर्जन उम्मेदवारहरूमध्ये सबैभन्दा बलिया शेरबहादुर देउवा, डा. शेखर कोइराला र डा. शशाङ्क कोइराला मानिनुहुन्छ । तर शशाङ्क र शेखर दुवै उम्मेदवार बन्नुभएमा देउवा नै विजयी बन्नुहुने सम्भावना बढ्नेछ । डा. रामशरण महत, अर्जुन नरसिंह केसी, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, प्रकाशमानसिंह, रामचन्द्र पौडेल र डा. नारायण खड्का एकजुट भएर एउटै उम्मेदवार खडा हुने स्थिति बन्यो भने आगामी महाधिवेशनमा शेरबहादुर देउवाको पराजय निश्चित मानिन्छ । त्यसो हुन नसक्दा अर्को एउटा कार्यकालका निम्ति पनि देउवा नै सभापतिमा चुनिनुहुने सम्भावना छ । सभापतिमा देउवा विजयी बन्न गोपालमान श्रेष्ठ, शङ्कर भण्डारी र कृष्ण सिटौला उम्मेदवार नबनि देउवाको समर्थनमा प्रकट हुनुपर्ने हुन्छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा केही प्रतिष्ठित नेताका पुत्रहरू आफ्नो पुस्तामा नेतृत्व सार्न प्रयासरत देखिएका छन् । बीपी पुत्र डा. शशाङ्क कोइराला, गणेशमानपुत्र प्रकाशमान सिंह र निधिपुत्र विमलेन्द्र त्यस्तो गृहकार्यमा जुटेको पाइएको छ । उहाँहरूमध्ये एकजना सभापतिमा र दुई जना महामन्त्री या उपसभापति पदमा उम्मेदवारी दिनेबारे विचारविमर्शमा रहनुभएको बुझिएको छ । उहाँहरूबीच सहमति बन्यो र एउटा पक्ष बनेर मैदानमा उत्रिनुभयो भने त्यसले काङ्ग्रेसभित्रको हालसम्मको शक्ति सन्तुलनमा परिवर्तन ल्याउने देखिन्छ । उल्लिखित तीन जनाबीचको सहमति बाँकी सबै नेताहरूका निम्ति गम्भीर चुनौती बन्न सक्ने सम्भावना छ । त्यस्तो सहमतिको सबैभन्दा ठूलो लाभ विमलेन्द्र निधिलाई पुग्ने देखिन्छ ।

अत्यन्त साम्प्रदायिक र क्षेत्रियतावादी मानसिकताको व्यक्तिका रूपमा चिनिएका निधिलाई राष्ट्रिय मानसिकताका मतदाताहरूको समर्थन रहनेमा शङ्का छ । शशाङ्क र प्रकाशमानसँग टीम बनाउने सफलता प्राप्त गरेमा पराजित भए पनि निधिलाई प्रतिष्ठा जोगिने स्तरको मत प्राप्त हुने विश्वास गरिएको छ । तर पार्टीभित्र तीन नेतापुत्रका गतिविधिलाई ‘राजकुमार’हरूको व्यर्थ प्रयासका रूपमा पनि टिप्पणी भएका छन् । विमलेन्द्र एक जनाको लाभका निम्ति बीपी र गणेशमानका सुपुत्रहरू त्यसरी क्रियाशील हुनु नपर्ने काङ्ग्रेसको ठूलो हिस्साले ठानेको छ ।