कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै

कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै



नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको बुधबार भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद एक/दुई दिनमै निरुपण गर्ने सहमति गरेको हो ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरूको बैठक सकारात्मक रुपमा अघि बढेको छ र विवाद छिट्टै निरुपण हुने बताए । क्रियाशील सदस्यतामा देखिएका समस्या समाधानपछि प्रभावित स्थानीय तहको नयाँ कार्यतालिका सार्वजनिक गरिने उनले बताए ।

बैठकमा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको सदस्यताका हकमा केन्द्रित भएर छलफल भएको थियो । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको यही साउन १४ गतेको बैठकले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको थियो । क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएका कारण र पार्टीको समायोजनका कारण बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको छ । त्यस्तै यसअघिको कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

file photo