रहश्यमयी भ्रमणपश्चात गतिविधि बढाउँदै कायस्थ नेता

रहश्यमयी भ्रमणपश्चात गतिविधि बढाउँदै कायस्थ नेता



काङ्ग्रेसको मतमा उभिएर क्षेत्रिय दल गठन गर्ने योजना

महाधिवेशनमा पराजित भएपछि सोही मतको जगमा काङ्ग्रेसबाट अलग भइ क्षेत्रिय पार्टी गठन गर्दै राजनीतिमा सक्रिय रहने योजनामा निधि रहेका छन् ।

सुशील कोइरालाको दृष्टिमा काङ्ग्रेसको सबैभन्दा खतरनाक मानिएका विमलेन्द्र निधि गत साता नयाँ दिल्लीको रहश्यमयी भ्रमणबाट फर्किएपछि निकै आत्मविश्वासपूर्ण ढङ्गबाट आफ्ना गतिविधि बढाउन सक्रिय भएका छन् ।

काङ्ग्रेसका वर्तमान तथा पूर्वपदाधिकारहिरूको बैठक चलिरहेका बेला कोलकातासम्म पुग्नुपर्ने जरुरी काम प¥यो भन्दै विमलेन्द्र साउन १३ गते बिहान विमानमार्फत विराटनगर पुगेका थिए । विराटनगरबाट बागडोगरा भएर नयाँ दिल्ली पुगेका निधिसँग केही भारतीय अधिकारीले भेट गरेका थिए । त्यसबेला भारतभ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री (सचिव) को टोलीमा रहेका दक्षिण एशियाली मामिला हेर्ने एक सहायक सचिवसँग विशेष भेटवार्ताका निम्ति निधि दिल्ली पुगेका थिए । साउन १३ गते साँझमा निधिको अमेरिकी अधिकारीसँग भेटवार्ता भएको थियो । भेटको व्यवस्था भारतीय अधिकारीहरूले मिलाएको जानकारीमा आए पनि के विषयमा वार्तालाप केन्द्रित थियो भन्ने यकीन हुन सकेको छैन ।

भारत र पश्चिमी मुलुकसँगको निकटतम सम्बन्धमा रही विभिन्न रहश्यमयी गतिविधिमा संलग्न निधिले काङ्ग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । भेटवार्ताका क्रममा अमेरिकी अधिकारीहरूले निधिलाई काङ्ग्रेसको महाधिवेशनभन्दा अगाडि नै अमेरिका भ्रमण गर्न निमन्त्रणा दिएका छन् भने भारतीय अधिकारीहरूले उपयुक्त समयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गराइने वचन निधिलाई दिएका छन् । मोदीसँगको भेट पनि काङ्ग्रेस महाधिवेशनभन्दा अगावै हुने बताइएको छ । निधिलाई अमेरिका र भारतले अति महत्व दिनुलाई नेपालमा निकै अर्थपूर्ण मानिएको छ ।

काङ्ग्रेस सभापतिमा शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिन कस्सिएका विमलेन्द्रलाई २०५९ सालमा काङ्ग्रेस विभाजन भएपछि केन्द्रीय सदस्य बनाइएको थियो भने २०७२ को महाधिवेशनपश्चात खुमबहादुर खड्कासँगको सहमति तोड्दै देउवाबाट निधिलाई उपसभापति नियुक्त गरिएको थियो । देउवालाई उपयोग गर्दै उपसभापति पद पड्काउन सफल भएपछि निधि अहिले देउवालाई नै समाप्त गर्न अग्रसर भएका छन् । तर उनको उद्देश्य देउवालाई सिध्याउने कुरामा मात्र सीमित रहेको बुझिँदैन ।

दुई नम्बर प्रदेशको मत कब्जा गरी काङ्ग्रेसको जनाधार सम्पन्न नेताको पहिचान बनाउने र आगामी महाधिवेशनमा पराजित भएपछि सोही मतको जगमा काङ्ग्रेसबाट अलग भइ क्षेत्रिय पार्टी गठन गर्दै राजनीतिमा सक्रिय रहने योजनामा निधि रहेका छन् । दुई नम्बर प्रदेशमा क्रियाशील नेताहरूमध्ये उपेन्द्र यादव विश्वसनीय नरहेको, महन्थ ठाकुरको उमेर ढल्किएको, राजेन्द्र महतोमा नेतृत्व क्षमता नरहेको, हृदयेश त्रिपाठी अर्कै बाटोमा हिँडिरहेको, शरतसिंह भण्डारी र रामेश्वर यादवप्रति पनि ढुक्क हुन सक्ने स्थिति नरहेकोले उक्त प्रदेशलाई नेतृत्व दिन सक्ने बलियो नेताको खोजी भइरहेको र यस क्रममा निधिलाई उपयुक्त पात्र ठहर गरिएको बुझिन्छ ।

यसरी काङ्ग्रेस समर्थकहरूको मत लिएर क्षेत्रिय पार्टी गठन गर्ने तयारीमा निधि रहेको जानकारी काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले पाउन सकेका छैनन् । पछिल्लो समयमा प्राप्त विदेशी समर्थनले नेपाललाई विभाजन गराउने हदसम्म विमलेन्द्रको प्रयोग हुन सक्ने सम्भावना बढाएको छ ।