ओलम्पिकमा श्रेष्ठलाई ‘स्वर्ण’, सिलवालाई ‘सिल्भर’ र वैद्यलाई ‘ब्रोन्च’ !

ओलम्पिकमा श्रेष्ठलाई ‘स्वर्ण’, सिलवालाई ‘सिल्भर’ र वैद्यलाई ‘ब्रोन्च’ !


टोेकियो ओलम्पिक २०२० मा नेपाली खेलाडीहरूको प्रदर्शन सहभागितामै सीमित रहे पनि ओलम्पिक कमिटीका पदाधिकारी र ‘सेभ द मिसन’ राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले गैरजिम्मेवार कार्य गर्दै ओलम्पिकमा नौलो कीर्तिमान कायम गरेका छन् । सो गैरजिम्मेवारी कार्य गरेर कीर्तिमान कायम गरेवापत एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ‘स्वर्ण’, सदस्यसचिव सिलवालले ‘सिल्भर’ र लियाजो चतुरानन्द वैद्यले ‘ब्रोन्च’ पदक जितेका छन् !
  • श्रीविक्रम भण्डारी

जस्तो बिउ रोपिन्छ त्यस्तै फल फल्छ भन्ने कहावतलाई टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडीहरूको प्रदर्शनले छर्लङ्ग पारिदिएको छ । पाँच जना खेलाडीमध्ये एलेक्स शाह, गौरिका सिंह र कल्पना परियारले आफ्नो व्यक्तिगत राष्ट्रिय कीर्तिमानमा केही सुधार गरे पनि अन्य दुई खेलाडी सोनिया भट्ट र सरस्वती चौधरीको उपस्थिति निरर्थक रह्यो । फगत सहभागिता जनाउनका लागि टोकियो पुगेका नेपाली खेलाडीहरूको सहभागिता खासै उपलब्धिमूलुक बन्न सकेन । केही खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि पाँचै खेलाडी पहिलो राउण्डबाटै बाहिरिनु विडम्बना नै हो । युनिभर्सल कोटा र वाइल्ड कार्डबाट ओलम्पिकमा सहभागिता जनाउन पाएका भाग्यमानी खेलाडीहरूबाट योभन्दा बढी अपेक्षा पनि गरिएको थिएन । पूर्वअपेक्षाअनुसार भने उनीहरू ‘खरो’ उत्रिएका छन्, जुन नेपालको लागि ‘सफलता’ र ‘गौरव’को कुरा बनेको छ ।

टोकियो ओलम्पिकमा खेलाडीको भन्दा बढी चर्चा पदाधिकारीहरूको सहभागिताले पायो । आखिर यस्तो हुनु स्वभाविकै पनि थियो, किनकि पाँचजना खेलाडीसँगै जम्बो पदाधिकारीको टोली ओलम्पिक पुगेको थियो । त्यसमा पनि असम्बन्धित खेलका पदाधिकारीको भीडले ओलम्पिकको यात्रालाई विवादमा तान्यो । जुन घटना आफैंमा अकल्पनिय र अस्वभाविक थियो । तर लाज र घिन पचाएका पदाधिकारीलाई त्यो कुराले कुनै असर गरेन्, अर्थात सबै स्वभाविक लाग्यो । ती पदाधिकारीहरूले अर्काको खेलकुद सङ्घमाथि हस्तक्षेप गर्दै आफ्नो दुनो सोझ्याए । त्यसको ज्वलन्त उदाहरहणको रूपमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, सचिव तुलसा थापा, सदस्य प्रकाशशम्सेर राणा र राम अवाले अग्रपङ्क्तिमा देखिए । विडम्बना ! आफ्नो सङ्घको व्यवस्थापक भएर अन्य व्यक्ति जाँदासमेत ‘चुँ’ उच्चारण नगर्ने सङ्घका ती पदाधिकारीको नियतप्रति अहिले शङ्का गरिनु स्वभाविक बनेको छ ।

यो बारेमा पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य, जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य, सुटिङका अध्यक्ष पुष्षदास श्रेष्ठले कस्तो जवाफ दिन्छन् त्यो चासोको विषय बनेको छ । एथलेटिक्स सङ्घको ब्यवस्थापक बनेका एनओसीका सह–महासचिव पिताम्बर तिम्सिना जापान नगएपछि सङ्घका अध्यक्ष राजीवविक्रम शाहले भने यो मुद्दामा सफाइ पाउने सम्भावना देखिन्छ । कुरो जटिल र पेचिलो बन्दै गए सम्बन्धित सङ्घका पदाधिकारीकोे काम के त ? भन्ने प्रश्न पक्कै उठ्नेछ । यस्तो अवस्थामा ओलम्पिक कमिटीसँग भएको अनैतिक साँठगाँठको पर्दा खुल्नेछ । त्यसको प्रत्यक्ष प्रभाव ती सङ्घका पदाधिकारीप्रति अवश्य पर्नेछ र उनीहरूले जवाफदेही बन्नुपर्ने छ ।

फेन्सिङ सङ्घका अध्यक्ष सुनिलकुमार श्रेष्ठ सुटिङको ब्यवस्थापक, कबड्डी सङ्घकी अध्यक्ष तुलसा थापा जुडो सङ्घको ब्यवस्थापक, तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्सेर राणा जुडोको ब्यवस्थापक र राम अवाले पौडी सङ्घको ब्यवस्थापक बन्नु आफैमा लाजमर्दो थियो । साँचो अर्थमा भन्नुपर्दा यी सङ्घहरूसँग उनीहरूको गोरु बेचेको साइनो पनि छैन, तर उनीहरू सर्वेसर्वा र हर्ताकर्ता भएर ओलम्पिक गए । सह-महासचिव पिताम्बर तिम्सिना पनि एथलेटिक्स सङ्घको ब्यवस्थापक भएर अमेरिकाबाटै जापान जान लागेको थिए, विवादमा पर्ने सन्त्रासले उनी अमेरिकामै रोकिए । तर नेपाल ओलम्पिक कमिटीमा लोभिपापीको भूमिका निभाउँदै आएका र ‘हनुमानगिरी’मा माहिर मानिएका अर्का उपाध्यक्ष चतुरानन्द वैद्यले आफ्नो चतुरपन देखाइछाडे । वैद्य कोभिडको ‘लियाजो अफिसर’ ओलम्पिक पुगे । त्यहाँ पुगेपछि उनले के-के गरे भन्ने त उनैले सामाजिक सञ्जालमा राखेका तस्बिरहरूबाटै प्रस्ट हुन्छ ।

टोकियो ओलम्पिक जानुअघि नेपाल ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै भनेको थियो- ‘यसपटक जात्रा होइन, यात्रा हुनेछ ।’ तर यो पटक ओलम्पिक कमिटीले जात्रा र यात्रा दुवै गरेको छ । अझ यात्राभन्दा जात्रा बढी गरेर नेपाली खेलकुदलाई धुमिल र नकारात्मक कोणबाट चर्चित बनाइदिएको छ । ओलम्पिकको पूर्वसन्ध्यामा गोपीचन्द्र पार्कीको सहभागितालाई पूर्णबिराम लगाउँदै रातारात सरस्वती चौधरीलाई पठाउने निर्णय गर्नु ‘जात्रा’ मात्र होइन ‘गाइजात्रा’ भन्दा कम थिएन । त्यस्तै कोभिडको बहानामा प्रशिक्षक इन्द्राकुमारी मल्लमाथि ओलम्पिक कमिटीले गरेको ज्यादतीपूर्ण खेलबाड जघन्य प्रकारको छ भन्न सङ्कोच मान्नु पर्दैैन । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल स्वयम्ले ओलम्पिकको लागि नेपाली टोलीको बिदाई गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इन्द्रालाई नेपालको पहिलो महिला प्रशिक्षक भनी परिचय गराएका थिए । तर अन्तिम समयमा कोभिडको बहानामा इन्द्राको नाम काटेर सन्तोष श्रेष्ठलाई एथलेटिक्सको प्रशिक्षकको रूपमा ओलम्पिकमा लगेर महागाइजात्राको प्रदर्शन गरियोे । इन्द्रालाई ओलम्पिक नलैजाने सुनियोजित योजनाअनुसार नै कोभिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ देखाइएको थियो । त्यसलगत्तै इन्द्राले अन्य ठाउँमा गरेको टेष्टमा नेगेटिभ रिपोर्ट आउनुले पनि ओलम्पिक कमिटीले कस्तो कुटिल र कुरुप महाजात्राको नौटङ्की गरेको रहेछ- सोझै अनुमान लगाउन सकिन्छ ।

टोेकियो ओलम्पिक २०२० मा नेपाली खेलाडीहरूको प्रदर्शन सहभागितामै सीमित रहे पनि ओलम्पिक कमिटीका पदाधिकारी र ‘सेभ द मिसन’ राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले गैरजिम्मेवार कार्य गर्दै ओलम्पिकमा नौलो कीर्तिमान कायम गरेका छन् । सो गैरजिम्मेवारी कार्य गरेर कीर्तिमान कायम गरेवापत एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ‘स्वर्ण’, सदस्यसचिव सिलवालले ‘सिल्भर’ र लियाजो चतुरानन्द वैद्यले ‘ब्रोन्च’ पदक जितेका छन् । त्यस्तै बक्सिङ अध्यक्ष भए पनि पौडीको व्यवस्थापक बनेर जापान पुगेका राम अवालेले अन्तिम समयमा जापान पुगेर ‘आलु’ पदक प्राप्त गरेका छन् । स्मरण रहोस्, तत्कालिन बक्सिङ सङ्घका अध्यक्ष रविराज थापालाई बेइजिङ ओलम्पिकका लागि पौडी सङ्घकै व्यवस्थापक बनेर जान प्रस्ताव आए पनि थापाले अस्वीकार गरेका थिए । त्यतिबेला थापाले नैतिकता देखाए पनि यतिबेला अवालले भने नैतिकता पोलेर खाए । उल्टै चाकरी, चाप्लुसी गरेरै र साम दाम डण्ड भेद चारै नीतिको अवलम्बन गर्दै उनी ओलम्पिक पुगे । यो बक्सिङको सौभाग्यको हो कि दुर्भाग्य ? सोझै अनुमान लगाउन सकिन्छ ।

सदस्यसचिव सिलवालले कसरी ‘सिल्भर’ जिते भन्ने कौतुहलता उत्पन्न हुनु स्वभाविकै हो । किनभने उनी त विपक्षीसँग साँठगाँठ गरेर गोल्डमेडलकै प्रमुख दाबेदार थिए । यहाँ रनभूल्लमा पर्ने कुनै कुरो छैन, यसर्थमा कि उनले टोकियो ओलम्पिक जानुभन्दा अघि र ओलम्पिकमा ‘सेभ द मिसन’को रूपमा निभाएको भूमिका र आफ्नो.नामकै आधारमा रजत पदक अर्थात् सिल्भर मेडल जितेका हुन् । रमेश (रजत) सिलवाल (सिल्भर) जताबाट लिए पनि उनी यही पदकको दाबेदार थिए । अब नेपाल फर्केपछि सिलवालले ओलम्पिकमा नेपाली खेलाडीले गरेको प्रदर्शन, आफूले गरेको खेलाडीहरूको तयारी, राखेपका सदस्यहरूको ओलम्पिकमा उपस्थितिको उपलब्धि, ओलम्पिकमा नगएका राखेपका सदस्यहरूको बारेमा कस्तो विश्लेषण गर्छन्, त्यसपछि उनी स्वर्ण पदकको हकदार पनि बन्न सक्छन् । अध्यक्ष जीवनराम श्रेष्ठले स्वर्ण जित्नुमा उनी आफ्नो रणनीतिमा सफल हुनु हो । श्रेष्ठले आफ्नो रणनीतिको लपेटोमा सिलवालदेखि विभिन्न सङ्घका अध्यक्ष, ओलम्पिक कमिटीका पदाधिकारी र प्रशिक्षकलाई पारे । सुटिङ र जूडो खेलका खेलाडीलाई वाइल्ड कार्ड दिलाएर चित्त बुझाए भने ती खेलमा अर्कै सङ्घका अध्यक्षलाई व्यवस्थापक बनाएर ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने’ रणनीति अपनाउँदै सबैलाई खुशी पारे । यसरी श्रेष्ठले ‘श्रेष्ठ’ सावित हुँदै स्वर्ण जिते ।