सांसद विमलाले लगाइन् अपहरणपछि बन्धक बनाइएको आरोप, एमालेद्वारा आरोप खारेज

सांसद विमलाले लगाइन् अपहरणपछि बन्धक बनाइएको आरोप, एमालेद्वारा आरोप खारेज


  • विशेष प्रतिनिधि, बुटवल

आफूलाई अपहरण शैली अपनाएर मुख्यमन्त्री निवासमा बन्धक बनाइएको भन्ने लुम्बिनी प्रदेशका सांसद विमला वली खत्रीले लगाएको आरोपको नेकपा एमालेले खण्डन र खारेज गरेको छ ।

सांसद वलीले पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएपछि एमालेले पनि पत्रकार सम्मेलन गरेर नै अपरहणको आरोप गलत भएको स्पष्टिकरण दिएको हो ।

एमाले प्रदेशसभा संसदीय दलका मुख्य सचेतक भुमिश्वर ढकालले वली आफैले मुख्यमन्त्रीसँग भेट गर्ने इच्छा व्यक्त गरेपछि सँगै लिएर आएको जिकिर गरे ।

वली नेकपाबाट चुनाव लडे पनि उनको एमाले पृष्ठभूमिका साथै पार्टी विभाजनपछि संसदीय दल र दाङ जिल्ला कमिटी बैठकमा सहभागी भएका कारण उनी एमालेकै सांसद भएको दाबी ढकालले गरे । एमाले सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका कारण पार्टी केन्द्रको स्पष्टीकरण लिएर उनको घरमा पुगेको उनको भनाइ थियो । ढकालले भने- अमिलियाबाट बुटवलसम्म आइपुग्दा विमला राजिखुसी नै देखिनुभएको थियो ।

ढकालले भने, ‘मुख्यमन्त्रीसँग कुरा भए लगत्तै उहाँ आफै एमाले बन्न तयार हुनुभयो । उहाँलाई बाहिर बस्ने ब्यवस्था मिलाइएको थियो । तर उहाँले म मेरो अभिभावकसँगै बस्छु भनेपछि मुख्यमन्त्री निवासमै बस्न दिइएको हो ।’

विमला आफैले एमालेमा रहेको भन्दै विज्ञप्ति जारी गरेको बताउँदै ढकालले माननीय जस्तो मान्छेले बिरामी छु, रेष्ट गर्छु भनेपछि त्यस दिन प्रेस मिट नगरिएको जानकारी दिए । उनले भने, ‘माननीयय जस्तो मान्छेलाई जबर्जस्ती प्रेस मिट गराउन सकिएन नि !’

ढकालले विमलासँगै सरस्वती गौतमलाई पनि साथी बस्न राखेको कुरालाई स्वीकार गरे । ढकालले जे भयो सबै उहाँकै इच्छा र सहमतिमा गरिएको दाबी गरे । अब अध्यक्ष केपी ओलीको स्पष्टीकरणको जवाफमा एमालेमै छु भनेकोले कारवाही नगरिएको बताउँदै उनले अब पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए ।

ज्ञातव्य छ, यसअघि लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पाँच दिनसम्म ‘बन्धक’ बनाएको आरोप लगाएकी थिइन् ।

बुधबार मुख्यमन्त्री निवासबाट माओवादीको सम्पर्कमा पुगेकी उनले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा निगरानीमा जबर्जस्ती राखेको र विभिन्न माइन्युट र विज्ञप्तिमा पढ्न नदिइ जबर्जस्ती हस्ताक्षर गराइएको बताएकी थिइन् ।

आफूलाई तीन महिनाअघिदेखि नै एमालेले पार्टी प्रवेशका लागि दबाब दिइरहेको र अनेक प्रलोभन देखाएको भन्दै उनले मुख्यमन्त्री निवासमा लगेर जबर्जस्ती हस्ताक्षर गर्न लगाएको बताइन्।

‘मैले पटक पटक उहाँहरुलाई मैले एकपटक दल रोजिसकेँ, अब म यही माओवादी पार्टीमा रहन्छु भनेर भनेँ तर उहाँहरुले मलाई तीन महिनादेखि पटक पटक अनेक बहाना बनाइ दबाब दिएर एमालेमा जानुपर्छ भन्नुभयो’, उनले माओवादी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्- ‘त्यसो गर्दा पनि मैले इन्कार गरेपछि मलाई मुख्यमन्त्री निवासमै लग्ने योजना बनाइएको रहेछ।’

सांसद वलीले साउन १५ गते नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको र पार्टी प्रवेशको कुरा गरेको बताइन्।

आफूले पार्टी प्रवेश नगर्ने बताएपछि अरु बहाना खोजेको जिकिर गर्दै उनले आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको र त्यही विश्वासमा गाडीमा चढेको खुलासा गरिन् ।

तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें, उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपऱ्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुऱ्याइयो।’

त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो।’