भदौमा महाधिवेशन सम्भव नभएको कांग्रेस महामन्त्री कोइरालाको प्रष्टोक्ति

भदौमा महाधिवेशन सम्भव नभएको कांग्रेस महामन्त्री कोइरालाको प्रष्टोक्ति



महाधिवेशन मङ्सिरसम्ममा

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अगामी भदौमा १४औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।

उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनको समयमा हुने गरेको स्मरण गर्दै महामन्त्री कोइरालाले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए । कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको धारणा पनि उनले अघि सारे ।

‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ’, महामन्त्री कोइरालाले जानकारी दिए ।

आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने खुलासा पनि डा. कोइरालाले गरे ।