- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासीअन्तर्गत रहेको महेशपुर भन्सार कार्यालयले गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा जम्मा २७ करोड ३० लाख २१ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख रामप्रसाद अर्यालले जानकारी दिएका छन् ।
भन्सारले संकलन गरेको राजस्व अहिलेसम्मकै बढि राजस्व रहेको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा १३ करोड ४ लाख राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा राजस्व वृद्धि हुँदै गत वर्षको तुलनामा राजस्व दोब्बर उठेको बताइएको छ । गत वर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्व असुलीमा कमी आएको थियो ।
भन्सार कार्यालयका अनुसार पैठारी भन्सार महसुल तर्फ १२ करोड ५ लाख ७९ हजार २३३, कृषि सुधार शुल्क तर्फ ४ करोड ८१ लाख ४८ हजार ८ सय ७, पैठारी सेवा दस्तुर तर्फ १५ लाख ४३ हजार ५ सय संकलन गरेको थियो भने अन्तःशुल्क तर्फ ५४ लाख ७६ हजार ९ सय ५१, मुल्य अभिवृद्धि करतर्फ ८ करोड ७९ लाख ७७ हजार ६ सय ३० र आयकर तर्फ ४९ लाख ८३ हजार ९ सय ३० रुपैयाँ संकलन भएको छ भने सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आम्दानी ४२ लाख ५९ हजार १ सय ९९ र अन्य प्रशासनिक सेवाबाट ५२ हजार रुपैयाँ आम्दानी गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा महेशपुर भन्सारमा ८७१ मुद्दा दर्ता हुनु सन्तोषजनक अवस्था रहे पनि अवैध कार्यमा सङ्लग्न पक्राउ परेका व्यक्तिमा सुधार नआउनु चिन्ताको विषय बनेको भन्सार प्रमुख अर्यालले प्रतिक्रिया दिएका छन् । वि.सं. २०७५ साल श्रावण १ गते नेपाल सरकारले महेशपुर छोटी भन्सारलाई मुल भन्सारको रुपमा मान्यता दिएपनि अझै कार्यान्वयमा समस्या देखिएको छ ।
करिव २ कठ्ठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न, बाटोघाटोको विस्तार र विकास गर्न, गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउटर, क्वारेन्टिन तथा जनशक्तिको व्यवस्थापनहरु जस्ता महत्वपूर्ण कार्य जरुरी रहेकोले यसतर्फ भन्सार विभाग र अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया