प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा



नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको एक टोली शनिबार हिमाली जिल्ला मनाङ पुगेको छ । बाढीपहिराले पुऱ्याएको क्षति निरीक्षणका लागि उहाँहरु मनाङ पुग्नुभएको बताइएको छ ।

असार १ गतेको बाढीपहिराले क्षति पुऱ्याएको मनाङको भौतिक क्षतिको अवलोकनका साथै जिल्लाका विभिन्न स्थानमा पुऱ्याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उहाँहरु मनाङ पुग्नुभएको जनाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुऱ्याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलाई उद्धृत गर्दै राससले जनाएको छ ।

उहाँहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

मर्स्याङ्दी नदीमा आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ ।

pict:rss