राष्ट्रपति सीको आह्वान : ‘एआईमा एक देशको प्रभुत्व नहोस्’

राष्ट्रपति सीको आह्वान : ‘एआईमा एक देशको प्रभुत्व नहोस्’


चिनियाँ राष्ट्रपति सी जिनफिङले कृत्रिम बौद्धिकता (एआई)को विकास कुनै एक देशको नियन्त्रण वा प्रभुत्वमा सीमित हुन नहुने बताउँदै यसको सुरक्षित, समावेशी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् । विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन (डब्लुएआइसी) को उद्घाटन समारोहलाई शुक्रबार (१७ जुलाई) सम्बोधन गर्दै उनले एआईलाई प्रतिस्पर्धाको नभइ, सहकार्यको माध्यम बनाउनुपर्नेमा जोड दिए ।

‘एआईको विकास कुनै एक देशको एकल प्रदर्शन होइन, अन्तर्राष्ट्रिय सहकार्यको सिम्फनी हुनुपर्छ’, राष्ट्रपति सीले भनेका छन् । उनले राष्ट्रिय सुरक्षाको नाममा एआई क्षेत्रमा विभाजन सिर्जना गर्ने वा कुनै एक देशको सुरक्षालाई अन्य देशको भन्दा माथि राख्ने प्रवृत्तिको संयुक्त रूपमा विरोध गर्नुपर्ने धारणा पनि राखे ।

चिनियाँ एआई मोडेलहरूले कम लागत र प्रतिस्पर्धी क्षमताका कारण विश्व बजारमा प्रभाव बढाइरहेका बेला अमेरिका र युरोपेली सङ्घ (इयु) ले भने राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ प्रविधिमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । उन्नत चिप, उच्चस्तरीय कम्प्युटिङ पूर्वाधार र अत्याधुनिक एआई प्रविधिमा पहुँचलाई लिएर अमेरिका र प्रमुख एआई कम्पनीहरूबीच पनि बहस तीव्र बन्दै गएको छ ।

प्रविधि विश्लेषण संस्था हेलो चाइना टेकका विश्लेषक पो झाओका अनुसार डब्लुएआइसी चीनको एआई उद्योगको दिशा बुझ्ने सबैभन्दा महत्त्वपूर्ण वार्षिक मञ्च हो । उनले अमेरिका अझै उन्नत चिप, उच्चस्तरीय कम्प्युटिङ क्षमता र ठूलो लगानीमा आधारित एआई विकासमा अग्रणी रहे पनि चीन त्यसको सबैभन्दा नजिकको र व्यापक प्रतिस्पर्धीका रूपमा उभिएको बताए ।

चारदिने सम्मेलनमा एक हजारभन्दा बढी चिनियाँ प्रविधि कम्पनी सहभागी भएका छन् । सम्मेलनमा एआई कम्प्युटिङका लागि अत्याधुनिक सेमिकन्डक्टर प्रणाली, स्वायत्त रूपमा काम गर्न सक्ने स्मार्टफोन, एआई एजेन्ट तथा करिब तीन हजार नयाँ प्रविधि उत्पादन प्रदर्शनमा राखिएका छन् ।

राष्ट्रपति सीले एआईको विकास सधैँ मानव नियन्त्रणमै रहने सुनिश्चित गर्न कानूनी व्यवस्था, प्राविधिक निगरानी, प्रारम्भिक चेतावनी प्रणाली र आपत्कालीन प्रतिक्रिया संयन्त्र आवश्यक रहेको बताए । उनले एआई विकासलाई ‘जनकेन्द्रित’ बनाउनुपर्नेमा पनि जोड दिए ।

यसअघि बिहीबार चिनियाँ विदेशमन्त्री वाङ यी तथा रुस, पाकिस्तान, इन्डोनेसियासहित २९ देशका प्रतिनिधिले अन्तरसरकारी एआई सहकार्य समूह स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । साङ्घाईस्थित विश्व आर्टिफिसियल इन्टेलिजेन्स सहयोग सङ्गठनमार्फत एआईको स्वस्थ, सुरक्षित र व्यवस्थित विकासका लागि सदस्य राष्ट्रबीच परामर्श र सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, कम्बोडियाका प्रधानमन्त्री हुन मानेट तथा थाइल्यान्डका उपप्रधानमन्त्री अनुटिन चार्नविराकुललगायत अन्तर्राष्ट्रिय नेताहरू सहभागी छन् ।

यसैबीच बेइजिङस्थित स्टार्टअप कम्पनी मूनशट एआईले शुक्रबार ‘किमी के-३’ नामक नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । यसको क्षमता केही प्रमुख अमेरिकी एआई मोडेलसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरिएको छ ।

यस वर्षको डब्लुएआइसीमा मिनीम्याक्सको एम–३ मोडेल, स्वायत्त एआई एजेन्टयुक्त पहिलो व्यावसायिक स्मार्टफोन तथा ह्वावेको ‘एटलस ९५० सुपरनोड’ एआई प्रणाली पनि प्रमुख आकर्षण बनेका छन् । विश्लेषक झाओका अनुसार अब एआईको विकास केवल मोडेल निर्माणमा सीमित नरही दैनिक जीवनमा व्यापक प्रयोग हुने प्रणालीतर्फ केन्द्रित हुँदै गएको छ ।

चीनले चिप उत्पादनदेखि उपभोक्तास्तरसम्मको सम्पूर्ण एआई पारिस्थितिकी प्रणाली विकासलाई औद्योगिक नीतिको रणनीतिक प्राथमिकताका रूपमा अघि बढाएको छ । सरकारी तथ्याङ्कअनुसार चीनमा एआई प्रयोग मापन गर्ने ‘टोकन’ को दैनिक खपत पछिल्ला दुई वर्षमा एक हजार गुणाले बढेको छ ।

चिनियाँ एआई बजारको आकार सन् २०२५ मा १२० खर्ब युआन (एक खर्ब ७७ अर्ब अमेरिकी डलर) पुगेको थियो भने यस वर्ष ३० प्रतिशतभन्दा बढी विस्तार हुने अनुमान गरिएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ)का अनुसार सन् २०२४–२५ बीच एआईसँग सम्बन्धित ४३ हजारभन्दा बढी पेटेन्ट दर्ता भएका छन् ।

कम लागत, उच्च कार्यक्षमता र खुला स्रोत प्रणालीका कारण सिमेन्सलगायत अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि चिनियाँ एआई मोडेल अपनाउन थालेका छन् । यसलाई ओपनएआई र एन्थ्रोपिकजस्ता अमेरिकी कम्पनीका बन्द प्रणालीको विकल्पका रूपमा हेरिन थालेको छ ।