राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको शनिबार बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने, ‘यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ ।’
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । कोरोना भाइरस सङ्क्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभीआरमार्फत प्राप्त गर्न सकिने जानकारी दिइएको छ । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ ।
विद्यार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि एसईईको नतिजा थाहा पाउने व्यवस्था गरेको छ । नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनःपरीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको शनिबार बसेको बैठकले अन्तिम तयारी पूरा गरिसकेको परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका हुन् ।
कक्षा ११ को परीक्षा हाल भौतिक रूपमा होमसेन्टरमा सञ्चालन भइरहेको अवस्थामा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ को परीक्षा ९० प्रतिशत सकिएको र यता कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षा भने स्थगन गर्ने निर्णय भएको छ ।
परीक्षा कहिले कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बोर्डको अर्को बैठकले निर्णय गरी परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि नै सूचना सार्वजनिक गरिने बताइएको छ ।
प्रतिक्रिया