ओलम्पिक आयोजना गर्न सघाएको भन्दै जापानी प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन

ओलम्पिक आयोजना गर्न सघाएको भन्दै जापानी प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन


  • विशेष प्रतिनिधि, जापान

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना महामारीको कठिनाइका बाबजुद सुरक्षित रुपमा ओलम्पिक आयोजना गर्न सहयोग गरेको भन्दै जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सुगाले जनतालाई धन्यवाद दिँदै भने- ‘म विश्वास गर्छु कि कोरोना महामारीका कारण ओलम्पिक एक वर्ष ढिला हुन पुगे पनि हामीले आयोजक राष्ट्रको तर्फबाट उत्तरदायित्व पूरा गर्न सक्यौँ।’

प्रधानमन्त्री सुगाले यस्तो कठिन परिस्थितिमा पनि सहज वातावरण बनाउन जनताले पूर्ण साथ दिएको कुरा उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका हुन् ।

बढ्दो कोभिड संक्रमण दबाबका बीच संचालन भएको ओलम्पिक १७ दिन सम्मै प्रायः सबै खेलहरु दर्शकबिना नै सम्पन्न भए । साविकको समयमा भए लाखौँ दर्शकले भरिभराउ हुने रंगशालाहरु सबै शुन्य पारेरै भए पनि जापानले आयोजक राष्ट्रको तर्फबाट गरिएको प्रतिवद्धता पूरा गरेको हो ।

ओलम्पिक आयोजना भइरहँदा तथा आयोजना हुनुअघि केहि नागरिक तथा चिकित्सा क्षेत्रले ओलम्पिक रद्द गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्दै आएका थिए । व्यापक विरोध र कोभिड माहमारीका बीचमा पनि जापानले तुलनात्मक रुपमा सुरक्षित तवरले खेल सम्पन्न गरि विश्वभरका खेलप्रेमीहरुमा नयाँ आशा जगाएको समीक्षा गरिएको छ ।