नेकपा एमाले वैचारिक शुद्धिकरण तथा परिमार्जनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । पार्टीको आगामी भाद्र २७ र २८ गते राजधानीमा हुने विधान अधिवेशनमा विभिन्न वैचारिक एवम् सैद्धान्तिक प्रश्नमा स्पष्ट भएर सहभागिता जनाउन अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको मार्गदर्शनका अन्तरवस्तुले उक्त पार्टी वैचारिक परिवर्तनको ऐतिहासिक मोडमा पुगेको स्पष्ट सङ्केत दिएको छ । पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्का पन्ध्र सयसहित बढीमा दुई हजार जनासम्मको सहभागिता रहने विधान अधिवेशनमा पार्टीको कार्यदिशा र भावी रणनीतिलगायत अनेकौँ महत्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ ।
भनिन्छ, अध्यक्ष केपी शर्मा ओली पार्टीलाई युगअनुकुल परिमार्जन गर्दै राष्ट्रहितमा केन्द्रीत गर्न चाहनुहुन्छ । त्यसैले विधान अधिवेशनमा साम्यवाद र समाजवादको औचित्यका बारेमा समेत बहस छलफल हुने सङ्केतहरू देखिएका छन् । साम्यवाद, समाजवाद, वर्गभेद र क्रान्तिका अनेक चरणलगायतका विषयहरूलाई पार्टीले कुन रूपमा ग्रहण गर्ने भन्ने बारेमा समेत विधान अधिवेशनमा छलफल गरी एउटा ठोस र ऐतिहासिक निर्णय पुग्ने बुझिएको छ । एमालेलाई कम्युनिष्ट पार्टीका रूपमा राखिरहन नहुने भएकोले यसको नाम परिवर्तनका बारेमा समेत बहस हुने बताइएको छ । संविधानमा लेखिएका सङ्घीयता, समानुपातिक प्रणाली र धर्मनिरपेक्षता जस्ता विषयहरू देशले धान्न नसक्ने ठहर पार्टीका मूख्य नेताहरूले गरेका छन्, त्यसैले उल्लिखित विषयहरूमा पनि विधान अधिवेशनले युगान्तकारी निर्णय लिने सम्भावना रहेको छ ।
यसरी नेकपा एमाले आफ्नो नाम र नीति तथा कार्यनीतिमा ब्यापक परिमार्जन गर्ने स्थितिमा भए पनि कम्युनिष्टको नाममा माओवादी पक्षले एकलौटी मत सोहोर्न सक्ने सम्भावनाप्रति भने ज्यादा सचेत देखिएको छ । आफूलाई एउटा राष्ट्रवादी, प्रजातान्त्रिक र गतिशील पार्टीका रूपमा रूपान्तरित गर्दा कम्युनिष्टका नाममा मतदान गर्दै आएका जनताले कस्तो धारणा बनाउन सक्छन् र, त्यसैले पार्टीको भविष्यलाई कुन प्रकारको असर-प्रभाव पार्न सक्छ भन्ने बारेमा यतिबेला एमाले नेतृत्वको ध्यान केन्द्रीत भएको छ । ‘कम्युनिष्ट’ र ‘एमाले’ नाम परित्याग गर्दा त्यसको लाभ सिधै माधव नेपाल र प्रचण्डहरूले उठाउन सक्ने सम्भावनालाई दृष्टिगत गरी उक्त पार्टीले क्रमशः अर्थात् ‘किस्ताबन्दी’मा आफूलाई परिमार्जन गर्न सक्ने देखिन्छ । तर केही ‘उग्र मत’ बाहिरिए पनि त्यसको क्षतिपूर्ति राष्ट्रवादी एवम् प्रजातान्त्रिक कित्ताबाट हुन सक्नेतर्फ सम्भवतः एमाले नेतृत्वले आवश्यक ध्यान पुऱ्याउन सकेको छैन ।
एमालेले आफूलाई राष्ट्रवादी एवम् प्रजातन्त्र पक्षधर प्रगतिशील पार्टीका रूपमा परिमार्जन गर्न सकेको अवस्थामा राप्रपालगायत कैयन पार्टीको भविष्यमा पूर्णबिराम लाग्ने निश्चित मानिन्छ । त्यस्तै, काङ्ग्रेस पार्टीको ठूलो जनमत पनि केपी ओली नेतृत्वकै पार्टीतिर सर्ने विश्वास गर्न सकिन्छ । ह्रास हुने र थपिने मतको सूक्ष्म विश्लेषण गरेर मात्र केपी ओली एउटा ठोस निर्णयमा पुग्ने बताइएको छ । एमाले रुपान्तरणले उग्र कम्युनिष्ट गतिविधि र प्रचण्ड–माधवको भविष्यलाई सहयोग पुग्ने निष्कर्श निस्किएको अवस्थामा भने एमाले रुपान्तरणको गति सुस्त हुन सक्ने देखिएको छ ।
प्रतिक्रिया