प्रधानमन्त्रीसँग विज्ञ महिलाहरूको आग्रह- ‘विषयगत दक्षताका आधारमा नियुक्ति गर्नुस्’

प्रधानमन्त्रीसँग विज्ञ महिलाहरूको आग्रह- ‘विषयगत दक्षताका आधारमा नियुक्ति गर्नुस्’



अन्तरपुस्ता महिलावादी मञ्च, महिलामैत्री विपद् ब्यवस्थापन समूह (डब्लुएफडीएम) र महिला मानवअधिकार विपद् ब्यवस्थापन प्लेटफर्म सम्बद्ध महिलाहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विगतमा जस्तो राज्यसंरचनालाई कमजोर बनाउने खालका नियुक्तिहरू नगर्न सुझाव दिएको छ ।

०७८ साउन २६ गते प्रधानमन्त्री निवास बालुवारमा भएको भेटघाटमा उनीहरूले स्वार्थ बाझिने नियुक्तिहरू नगर्न, महिलाभित्रका विविधतालाई सम्मान गर्न र विषयगत दक्षता हासिल गरेका ब्यवसायिक ब्यक्तिहरूलाई नियुक्त गर्न ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीसमक्ष विभिन्न क्षेत्रका विज्ञ महिलाहरूले महिला सहभागितालाई लिएर अपिल प्रस्तुत गरेका छन् । अपिलमा विभिन्न आयोगहरू पुरुष र सीमित जातिका महिलाहरूबाट मुक्त हुन नसकेको, आयोगहरूमा विज्ञता भन्दा नाता र दलका मानिसलाई नियुक्त गरिएको, संवैधानिक आयोगहरू राजनीतिक दलको भर्तीकेन्द्र बनेको उल्लेख छ ।

राष्ट्रिय महिला आयोगका नियुक्तिमा महिलाभित्रका विविधता र विज्ञतालाई बेवास्ता गरिएको उल्लेख गर्दै उनीहरुले भने- ‘यसप्रकारका नियुक्तिले सरकारी संयन्त्रहरू कमजोर हुन्छन् र उद्देश्यअनुरुप काम गर्न सक्दैनन् ।

विभिन्न क्षेत्र तथा समुदायलाई प्रतिनिधित्व गर्ने महिलाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अन्तरपुस्ता महिला संजालसम्बद्ध सरु जोशी श्रेष्ठ र भारती सिलवाल गिरीले प्रधानमन्त्रीसमक्ष अपिल पढेर प्रस्तुत गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले महिला समूहको तर्फबाट प्रस्तुत उक्त अपिललाई आफूले गम्भीरतापूर्वक लिने बताउनुभएको थियो ।