नयाँ सरकारलाई सहयोग गर्ने शंकर पोखरेलको प्रतिबद्धता

नयाँ सरकारलाई सहयोग गर्ने शंकर पोखरेलको प्रतिबद्धता


  • बुटवल प्रतिनिधि

पदबाट राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आउने नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गरेका छन् ।

मुख्यमन्त्रीका रुपमा अन्तिम पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रदेश सरकारले हालसम्म गरेका कामरहरुको फेहरिस्त सुनाए । उनले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरे ।

सरकारले हालसम्म हासिल गरेका कामबाट आगामी नेतृत्वले पछ्याउन मिल्ने गरी खाका तयार पारेको उनको भनाइ थियो । प्रदेश सरकारका संरचनाले आफ्नो सरकारले गरेका कामलाई निरन्तरता दिएमा प्रदेश अगाडि बढ्ने उनको धारणा छ ।

निवर्तमान मुख्यमन्त्री पोखरेलले प्रदेशले स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण कार्य भइरहेको बताउँदै प्रदेश सरकारको यो ठूलो सफलताका रुपमा उनले चित्रित गरे । साथै उनले प्रदेशको पूँजीगत खर्च गर्न सक्ने सामर्थ्य बढेर गएको पनि बताए ।