को अग्रगामी को पश्चगामी ?

को अग्रगामी को पश्चगामी ?


‘वास्तविक अग्रगामी र वास्तविक पश्चगामीको पहिचान समयले गर्ने नै छ’

माओवादी युद्धको नाममा हत्या र आतङ्क मच्चाइनु गलत थियो भन्नेहरू पश्चगामी कहलिन्छन् भने जनयुद्धको नाममा मन्दिर र विद्यालयमा आक्रमण गर्ने, शिक्षक र पुजारीहरूलाई ‘सफाया’ गर्ने कामको समर्थन गर्नु अग्रगामी मानिन्छ ।
  • डा. राजु अधिकारी

‘बिरालो कालो होस् या सेतो, मुसा समात्ने बिरालो नै सच्चा बिरालो हो ।’

माथिको प्रख्यात भनाइ गरिब र लथालिङ्ग चीनलाई जादुको छडीले झैँ तीव्र रूपमा विकास र सुशासनको मार्गमा डोऱ्याएर संसारमा शक्तिशाली राष्ट्र बनाउने श्रेय पाएका नेता तेङ सियाओ फिङको हो । उनले चीनलाई कसरी विकास गर्ने, कसरी पछ्यौटेपनबाट माथि निकाल्ने र कसरी जनतालाई भरपेट खान पुग्ने बनाउने भन्ने उद्देश्यसहित जसरी पनि विकास गर्नुपर्छ भन्ने सन्दर्भमा यो कुरा गरेका थिए । विकासको बारेमा पनि उनको स्पष्ट धारणा थियो । उनले भन्ने गर्थे- ‘देश र जनताको लागि विकास नै एक मात्र लक्ष्य हो ।’

तर उनको त्यही सुधारवादी र विकासशील धारणा नै पार्टीमा उनले दुःख पाउने कारक बन्यो । पार्टीमा उनले अनेक आलोचना खेप्नुपऱ्यो र पटक-पटक पार्टीबाट गलहत्याइनु पनि पऱ्यो । त्यो बेला उनको सुधारवादी विचारलाई पश्चगामी, कम्युनिष्टविरोधी र समर्पणवादको संज्ञा दिइयो ।

सन् १९६६ मा चीनमा माओ त्से तुङको निर्देशनमा सांस्कृतिक क्रान्ति शुरु भएको थियो । त्यसको नेतृत्व माओ त्से तुङकी पत्नी चियाङ छिङले गरेकी थिइन् । सांस्कृतिक क्रान्तिको उद्देश्य परम्परागत बुर्जुवा व्यवस्थाका अवशेषहरूलाई नष्ट गर्नु र माओ त्से तुङ विचारधारालाई अझ सशक्त रूपमा चिनियाँ समाजमा स्थापित गर्नु थियो । सांस्कृतिक क्रान्तिलाई आधार बनाएर माओ त्से तुङ विचारधाराको अन्धभक्त कट्टर कम्युनिष्ट मात्र सही कम्युनिष्ट हुन्, जसले धर्म र संस्कृति मान्छ त्यो पश्चगामी र परम्परागत बुर्जुवा व्यवस्थाको अवशेष हो भन्ने विचारमा आधारित रहेर देशका सांस्कृतिक धरोहरहरूमा आक्रमण गर्दै आपराधिक क्रियाकलाप चलाइयो । सुधारवादी धारणा राख्ने सबैलाई सिध्याएर सच्चा कम्युनिष्ट विचारधारामा आधारित समाज निर्माण गर्ने भनेर ‘चार जनाको ग्याङ’ (ग्याङ अफ फोर) भनेर नाम दिइएको कुख्यात समुहले पूरै चीनभरि आतङ्क मच्चायो ।

‘चार जनाको ग्याङ’को तारोमा तेङ सियाओ फिङ पनि थिए । तेङ सियाओ फिङको पूरै परिवारलाई उनीहरूले दुःख मात्र दिएनन् सांस्कृतिक क्रान्ति शुरु भएको तीन वर्षपछि उनलाई सामान्य मजदुरको रूपमा ट्याक्टर कारखानामा काम गर्न पठाइयो । त्यहाँ चार वर्ष भन्दा बढी काम गरेपछि तत्कालिन प्रधानमन्त्री चोउ अन लाइको जोडमा तेङलाई पुनः केन्द्रमा ल्याइयो । तर केन्द्रमा पनि उनलाई सार्वजनिक बहिस्कार गर्ने अभियान नै चलाइयो, त्यसमा माओ त्से तुङ आफैले पनि समर्थन गरेका थिए । त्यही अभियानअन्तर्गत नै सन् १९७६ मा उनलाई पार्टीको साधारण सदस्य मात्र रहने गरी पार्टीका अरु सबै पदबाट बर्खास्त गरियो । माओ त्से तुङको निधन नहुँदासम्म कुनै न कुनै बहानामा उनलाई त्यसरी नै सधैं पाखा लगाइयो ।

त्यो बेलासम्म पार्टीका नेता, कार्यकर्ता र जनता सबैको नजरमा तेङ सियाओ फिङ एक प्रतिगमनकारी थिए, पश्चगामी थिए, अप्रगतिशील थिए र कम्युनिष्टको नाममा गद्दार थिए । कम्युनिष्ट विचारधाराले जे भन्यो त्योबाहेक अरु सबै विचारहरू पश्चगामी नै मानिन्थे । सांस्कृतिक क्रान्तिको बेला मन्दिर भत्काउनु अग्रगामी हुन्थ्यो भने त्यसको संरक्षणको बारेमा आवाज उठाउनु पश्चगामी ठहरिन्थ्यो । त्यसैले देङको विचार पश्चगामी हो भनेर प्रचार गरियो, जनताले त्यही बुझे ।

माओको निधनपछि सांस्कृतिक क्रान्ति र ‘चार जनाको ग्याङ’को आतङ्क बन्द भयो र राष्ट्रिय राजनीतिमा तेङ सियाओ फिङको पुनः उदय भयो । उनको उदयसँगै चीनले पनि विकास र सुशासनको अनुभुति गर्ने मौका पायो । तर दश वर्षभन्दा बढी चलेको सांस्कृतिक क्रान्तिले धुजा-धुजा पारेको चीन र गलत सूचनाद्वारा भ्रममा राखिएका जनतालाई विकास र सुशासनको बाटोमा डोऱ्याउनु निकै कठिन कुरो थियो । त्यसको लागि तेङ सियाओ फिङले प्रशासनिक सुधार र आर्थिक खुलापनको अवधारणा अगाडि सारे र, सन् १९७९ को शुरुमा हङकङ नजिकको सनचन नाम गरेको एउटा सानो सहरलाई प्रयोगात्मक रूपमा विशेष आर्थिक क्षेत्र घोषणा गरी त्यहीँबाट चिनियाँ स्वरुपको आर्थिक खुलापनको बिजारोपण गरे ।

कट्टरपन्थीहरूले उनको त्यो प्रयोगलाई पश्चगामी कदमको संज्ञा दिए र अब चीन खत्तम हुने भयो भनेर अनेक भ्रम छर्दै विरोध पनि गरे । तर उनको त्यो प्रयोग निकै सफल भयो । चीनको विकासले कसैले नसोचेको गति लियो र चीनले संसारलाई अचम्भित पार्ने गरी विकासमा चमत्कार गऱ्यो र आज त्यही प्रयोग चीनभरि नै फेलिएर चीन अहिले आर्थिक हिसाबले विश्वको दोश्रो अर्थतन्त्रमा मात्र उक्लेको नभइ प्राविधिक, सामरिक र सांस्कृतिक हिसाबले पनि विश्वकै शक्तिशाली देशको रूपमा उदाने क्रममा छ । तेङ सियाओ फिङ ‘पश्चगामी’ विचारको कारणले गर्दा कुनै दिन खान नपाएर अकालमा मर्ने चिनियाँहरू आज संसारमा सबभन्दा धनीमध्येमा गनिन थालेका छन् ।

उनको प्रयोग सफल हुँदा पनि कट्टरपन्थीहरूले तेङ सियाओ फिङको खेदो खन्न भने छोडेनन्, उनलाई पश्चगामी भन्न छोडेनन् । उनलाई कम्युनिष्ट विचारधाराबाट विचलित भएको आरोप अझै पनि केही वृद्ध चिनियाँहरू लागाउँछन् । आर्थिक उदारताको नाममा विदेशीहरूलाई चीन पस्न र उनीहरूलाई चीनमा लगानी गर्न दिएर विदेशी संस्कृति भित्र्याएको जस्ता लान्छना उनलाई अझै पनि लाग्ने गर्छ । तर इतिहासले पुष्टि गरिसकेको छ कि कुनै समय पश्चगामी लाग्ने उनका विचारहरू वास्तवमा अग्रगामी थिए । चीन र चिनियाँ जनताको पक्षमा थिए । विकास र सुशासनको पक्षमा थिए । अनि आतङ्क र जडसुत्रवादको विपक्षमा थिए । सांस्कृतिक क्रान्तिको बेला अग्रगामी र प्रगतिशील भनिने विचारहरू अहिले पश्चगामी बनेका छन् ।

वर्तमान नेपाललाई हेर्दा पृथ्वीनारायण शाहले गरेको नेपालको एकिकरण ठिक थियो भन्नेहरू पश्चगामी कहलिन्छन् भने पृथ्वीनारायणले युद्धको बेलामा अपराध गरेका थिए भन्नेहरू अग्रगामी र प्रगतिशीलको दर्जामा राखिन्छन् ।

अहिलेको नेपाल धेरै हदसम्म त्यही अग्रगामी र पश्चगामी विवादमा अल्झिरहेको छ । सबैले आफूलाई अग्रगामीको पगरी गुथाउन चाहन्छ । को अग्रगामी, को पश्चगामी खुट्याउन गाह्रो छ । वर्तमान नेपाललाई हेर्दा पृथ्वीनारायण शाहले गरेको नेपालको एकिकरण ठिक थियो भन्नेहरू पश्चगामी कहलिन्छन् भने पृथ्वीनारायणले युद्धको बेलामा अपराध गरेका थिए भन्नेहरू अग्रगामी र प्रगतिशीलको दर्जामा राखिन्छन् । राजा महेन्द्रले नेपाललाई भारतको एउटा प्रान्त जस्तो हैसियतबाट एउटा स्वतन्त्र र स्वाभिमानी देशको वर्गमा ल्याए, प्रशासनिक सुधारहरू गरे, विकासका बाटाहरू खोले भन्नेहरूलाई पश्चगामीको पगरी गुथाइन्छ भने महेन्द्रको पालामा स्थापना भएका सारा उद्योगहरूलाई निजिकरणको नाममा बेचेर नेपालको अर्थतन्त्रलाई पूर्ण रूपमा पराधीन गराउनेहरूलाई अग्रगामी र प्रगतिशील भनिन्छ, मन्त्री तथा विभिन्न उच्च ओहदाको पदले यिनैलाई पुरस्कृत गरिन्छ । माओवादी युद्धको नाममा हत्या र आतङ्क मच्चाइनु गलत थियो भन्नेहरू पश्चगामी कहलिन्छन् भने जनयुद्धको नाममा मन्दिर र विद्यालयमा आक्रमण गर्ने, शिक्षक र पुजारीहरूलाई ‘सफाया’ गर्ने कामको समर्थन गर्नु अग्रगामी मानिन्छ । हिन्दुधर्मको पक्षमा बोल्नेहरू पश्चगामी बन्छन् । बाहुन, क्षेत्री या खस आर्यको हक-अधिकारको बारेमा बोल्दा सोझै पश्चगामीको दाग लाग्छ । बहुमत जनसङ्ख्याको समस्याको बारेमा बोल्दा पश्चगामी बनिन्छ ।

अग्रगामीको खोल ओढेर हाम्रो देशका ‘अग्रगमनकारी’हरूले देश लुटेको धेरै भइसकेको छ । उनीहरूको पापको घडा भरिइसकेको छ । चीनको सांस्कृतिक क्रान्तिको अन्त्य भए जस्तै यो लुट क्रान्तिको अन्त्य पनि निश्चित छ । अग्रगमनको मुकुण्डो लगाएका अल्छी ढाडे बिरालाहरू जनतालाई भोकै मारेर आफू मोटाएका छन् । जनतालाई अग्रगमनको चारो हालिदिएर आपसमा भिडाइ आफूले विलासी जीवन बिताएका छन् । सत्ताको लागि, लुटको लागि, अपराध लुकाउनको लागि कहिले कुनै दलहरू मिल्छन्, कहिले कुनै दलहरू मिल्छन् अनि सरकार कब्जा गर्छन् । न सिद्धान्त न विचार भएका यस्ता भ्रष्टहरूले अरुलाई पश्चगामीको संज्ञा दिएर अग्रगमनको कुरा गर्नु आफैमा लज्जास्पद विषय हो ।

तर ढिलो-चाँडो वास्तविकताको उजागर हुन्छ । लामो समय पश्चगामीको धब्बा लागेका देङ स्याओ फिङ र उनको विचारलाई समयले अग्रगामी सावित गऱ्यो भने अग्रगमनको खोलमा जनतालाई झुक्याएर राज गरेका, आतङ्क मच्चाएका, देशलाई वर्षौं पछाडि धकेलेका चार जनाको ग्याङलाई प्रतिगामी सावित गऱ्यो । त्यसैगरी नेपालमा पनि अहिले अग्रगमन भनेर देश लुट्नेहरू, देशलाई अस्थिरताको भूमरीमा जबर्जस्ती धकेल्नेहरू, जनतालाई झूटा आश्वासन दिएर सत्ताको सिँढी चढ्नेहरूको वास्तविकता पनि उजागर हुने नै छ । जनताको उत्थानको बहाना बानाएर जनताकै रगतमा होली खेल्नेहरूले आफ्नो कर्मको फल पाउने नै छन् । वास्तविक अग्रगामी र वास्तविक पश्चगामीको पहिचान समयले गर्ने नै छ ।

अन्तमा, जुन प्रणाली आए पनि, जुन नेता आए पनि जसले देश र जनताको लागि काम गर्छ, विकास र सुशासनको प्रत्याभूति दिन्छ त्यही नै हाम्रो लागि मुसा समात्ने बिरालो हो, त्यही नै हाम्रो लागि अग्रगमन हो र बाँकी अरु पश्चगमन ।

(सामाजिक र राजनैतिक विषयमा कलम चलाउने लेखकको ‘नेपालमा निर्दलीय लोकतन्त्रको प्रस्ताव’ नामक इ-बुक प्रकाशित छ ।– सं.)