बेल्जियमका बाढीपीडितलाई आर्थिक सहयोग गर्दै एनआरएन बेल्जियम

बेल्जियमका बाढीपीडितलाई आर्थिक सहयोग गर्दै एनआरएन बेल्जियम


  • सनत आचार्य, बेल्जियम

गत जुलाई दोश्रो साता अविरल वर्षाका कारण वालोनियामा भएको क्षतिबाट पीडित बन्न पुगेका बाढीपीडितहरूलाई बेल्जियमबासी नेपालीहरूको तर्फबाट गैरआवासीय नेपाली संघ बेल्जियमले आर्थिक सहयोग गर्ने भएको छ ।

उक्त क्षेत्रमा भारी वर्षाका धनजनको ठुलो क्षति भएपछि सहयोग गर्ने उद्देश्यले संघको यही अगस्त १ मा बसेको पहिलो बैठकले कोषाध्यक्ष पुष्प नेपालको नेतृत्वमा कार्यसमितिका सबै सदस्यहरू पदेन सदस्य रहने गरी एक समिति गठन गरेर आर्थिक रकम संकलन कार्यलाई तीव्रता दिएको थियो ।

समितिलगायत आफूले पनि व्यक्तिगत भेटघाट र सामाजिक संजालमार्फत पीडितका लागि सहयोग गर्न आग्रह गरिएको कोषाध्यक्ष नेपाल बताउनुहुन्छ ।

नेपालले आफूहरूले गरेको आग्रहलाई बेल्जियममा कर्मथलो बनाएका नेपालीहरूले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेको र थोरै समयमा पनि सोचेभन्दा बढी रकम संकलन भइरहेको जानकारी दिनुभयो ।

‘सहयोग रकम उठाउने विषय सन्तोषजनक छ । अधिकांश प्रवासी नेपालीहरूले यो प्राकृतिक विपद्मा सहयोग गर्न पाउँदा खुशीसमेत व्यक्त गरिरहेका छन्’- नेपाल भन्नुहुन्छ ।

त्यस्तै संघका अध्यक्ष खड्गबहादुर केसीले संकलित रकम आगामी बुधबार एक कार्यक्रम आयोजना गरी रेडक्रस भ्लान्द्रेनलाई चेकमार्फत प्रदान गरिने जानकारी दिनुभएको छ ।

अध्यक्ष केसीले कर्मभूमिमा हुन पुगेको जनधनको क्षतिमा एक पटक पुनः सबैले सहयोग गर्नुपर्ने परिस्थिति आएको भन्दै सहयोगको लागि आग्रहसमेत गर्नुभएको छ ।

कोषाध्यक्ष नेपाल यो विपद्मा सानो सहयोग ठुलो हुने र यसले बेग्लै महत्व राख्ने बताउनुहुन्छ । सरकारले बाढीपीडितहरूलाई सहयोग गरेको आर्थिक रकममा वर्षको अन्त्यमा पैतालिस प्रतिशत कर छुट हुने जानकारी पनि उहाँले दिनुभयो ।

गत जुलाइ र अगस्तमा भएको अविरल वर्षाका कारण बेल्जियममा ठुलो जनधनको क्षति भएको थियो । जसमा दुई दर्जन भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए भने हज्जारौँ घरहरू डुबानमा परेको थियो । प्रधानमन्त्री आलेक्स आन्दर डे क्रोले समेत अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न अपिल गरेका थिए ।