महाधिवेशनको नयाँ मिति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक जारी

महाधिवेशनको नयाँ मिति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक जारी



नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तथापि, क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् । अब निर्धारित मितिमा महाधिवेशन आयोजना नहुने निश्चित मानिएको छ ।

बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो । अन्य नौ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

file photo