‘स्पष्टीकरण माग गरिएको कुरा मिडियाबाट सुनेँ, त्यो औचित्यहीन छ’ : मन्त्री शाही

‘स्पष्टीकरण माग गरिएको कुरा मिडियाबाट सुनेँ, त्यो औचित्यहीन छ’ : मन्त्री शाही


  • आरपी उपाध्याय, नवलपरासी

लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री अजय शाहीले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग तीनदिने स्पष्टीकरण माग गरेको कुरा मिडियाबाट मात्र सुनेको बताएका छन् । शाहीले एमाले पार्टीको तर्फबाट पठाइएको भनिने पत्र नपाएको र तीनदिने स्पष्टीकरण सोधिएको भन्ने कुरा समाचार माध्यमबाट सुन्नमा आएकोले त्यो स्पष्टीकरण औचित्यहीन भएको पश्चिम नवलपरासीको बेलाटारीमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री शाहीले आफू स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित भइ आएकोले स्वतन्त्र निर्वाचित प्रदेश सांसदलाई कुनै पार्टीविशेषका ह्वीप नलाग्ने जिकिर गरे ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ ‘ख’बाट स्वतन्त्र सांसदको रूपमा निर्वाचित भएको अवस्था रहेकोले आफूले प्रदेश तथा प्रदेशका जनताप्रति पूर्ण उत्तरदायी हुने गरी कामको जिम्मेवारी बोध गरिरहेको उल्लेख गर्दै मन्त्री शाहीले स्पष्टीकरण माग प्रसङ्ग औचित्यहीन रहेको प्रष्ट्याए ।

सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै लुम्बिनी प्रदेश सरकारका मन्त्री शाहीले आफूलाई बिनाकारण गैरकानुनी रुपमा कारवाहीको प्रक्रिया अगाडि बढाइएमा न्यायको लागि अदालतको ढोकासम्म पुग्ने बताए ।

लुम्बिनी प्रदेश सरकारको मन्त्री भएपछि शनिबार आफ्नो गृहनगर बेलाटारी आइपुग्दा स्थानीयले शाहीलाई भव्य स्वागत गर्दै ओझेलमा परेको विकास निर्माण कार्य पूरा गर्न र बेरोजगारी समस्याको अन्त्य हुने गरि सिपमुलक रोजगारीको माग पनि उठाएका थिए ।

त्यसैगरी सुस्ता गाउँपालिका -३ फेनहरा बजारमा पनि स्थानीयले शाहीको स्वागत गर्दै आफ्नो मतको सदुपयोग भएको र शाहीबाट ठूलो आश जागेको धारणा राखेका थिए । सो कार्यक्रममा मन्त्री शाहीले पाँच वर्षीय कार्यकालको अन्तिम क्षणमा मन्त्री बन्ने अवसर पाएको भन्दै लोभलालचबाट मुक्त भएर कानुनसम्मत ढंगले नागरिकको सेवा गर्ने अश्वासन दिए ।