काङ्ग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म

काङ्ग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म



नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने गरेर नयाँ मिति तय गरिएको छ ।

काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिएका छन् ।

तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति (आगामी भदौ १६ देखि १९ गतेसम्म) मा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो ।

केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी गाउँ/नगर वडा अधिवेशन भदौ १८, गाउँरनगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

file photo