माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसको दोस्रो साता आयोजना गर्ने प्रस्ताव

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसको दोस्रो साता आयोजना गर्ने प्रस्ताव



नेकपा (माओवादी केन्द्र)ले आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन आयोजना गरिने जनाएको छ । शनिबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा सो पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावअनुसार आगामी पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन आयोजना गरिने छ ।

पार्टीलाई अवैध भन्दै नेकपा (एमाले) प्रवेश गरेका केही नेताले निर्वाचन आयोग र सर्वोच्च अदालतमासमेत निवेदन दिएको सन्दर्भमा माओवादीले राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्रिय सम्मेलनको लागि आगामी भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाइनेछ । आगामी असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार आगामी मङ्सिर १५ गते प्रदेश सम्मेलन आयोजना गरिनेछ । बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधनको प्रस्ताव पेश गर्नुभएको छ । बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक, विधान संशोधनलगायतका अन्य प्रस्तावमाथि छलफल गर्न विभिन्न आठ वटा समूहमा विभाजन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार बिहान ११ बजेसम्म दुवै प्रस्तावमाथि छलफल गरेर केन्द्रीय सदस्यले आवश्यक राय सुझाव दिने र छलफलबाट प्राप्त हुने निष्कर्ष बैठकमा पेश हुने, त्यसपछि आवश्यक संशोधनसहित पारित गर्ने कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

केन्द्रीय समितिको बैठक आज (आइतबार) ११ बजे पुनः बस्ने बताइएको छ ।