निरर्थक विवादमा काङग्रेस

निरर्थक विवादमा काङग्रेस


पार्टी एक ढिक्का बनाउने उद्घोषका साथ नेपाली काङग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा जिल्ला दौडाहामा निस्केका छन् । भावनात्मक रूपले एक हुन नसकेको नेपाली काङग्रेसलाई एक ढिक्का बनाउने अभियानमा जुटेका देउवाले महत्त्वपूर्ण विषयमा छलफल र निणयार्थ बोलाइएका पार्टीबैठकहरू भने केही समययता लगातार बहिष्कार गर्दै आएका छन् । यसरी बैठक, छलफल र सहमतिसँग बिच्किँदै कस्तो एकताको सूत्र खोज्न नेता देउवा कता भौंतारिन थालेका हुन्, आमकाङग्रेसजनबीच सवाल पैदा भएको छ ।
भ्रातृ सङ्गठन विघटनको मुद्दा उछाल्दै असन्तुष्ट पक्षद्वारा सतहमा ल्याइएको पछिल्लो काङग्रेसी विवादलाई ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेर देउवाले हास्यमोड प्रदान गरेका छन् । पार्टीमा विवाद बढ्नुको कारण अरू जेसुकै देखाइए पनि प्रधानमन्त्री पदकै लागि पार्टीसभापतिसँग बार्गेनिङ गरिरहेको सन्देश देउवाका पछिल्ला अभिव्यक्ति एवम् गतिविधिले छर्लङ्ग पारिरहेको छ । पार्टीमा झगडाको बीउ रोप्ने काम सभापति कोइरालाबाटै भइरहेको दाबी त देउवाले गरेका छन् तर अङ्कुराइसकेको झगडाको टुसामा मलजल गर्ने काम जानाजान आफैंबाट भइरहेको भने उनले हेक्का राख्न सकिरहेका छैनन् ।
यसरी कुर्सीका लागि छटपटाइरहेका देउवाको चहर्‍याइरहेको आँतमा सभापति सुशील कोइरालाको एउटै स्पष्टोक्तिले नुनचुक र्छर्किदिएको अनुभूति गरिएको छ । विभिन्न स्थानमा आयोजित पार्टीका कार्यक्रममार्फत दुई सातायता सभापति कोइरालाले पार्टीबाट प्रधानमन्त्री बनाइँदा विधानबमोजिम संसदीय दलका नेतालाई नै बनाइने अभिव्यक्ति सार्वजनिक गरिदिएका छन् । देउवाले आफैंलाई भावी प्रधानमन्त्री दाबी गरिरहँदा चुप बसेका काङग्रेस सभापतिको धैर्यको बाँध सायद अब टुट्यो र उक्त अभिव्यक्ति दिन बाध्य हुनुपर्‍यो । यसबाट काङग्रेसका वरिष्ठ नेता देउवाको भ्रम त टुटेकै हुनुपर्छ, आमकाङग्रेसजनले पनि यसलाई देउवाको दाबी आधिकारिक रूपबाटै पार्टीले खारेज गरिदिएको अर्थमा बुझ्ने अवसर पाएका छन् । तथापि, आफ्नो अर्घेल्याइँप्रति भने अझै नेता देउवाको ध्यान पुग्न सकेको अनुभूति काङग्रेसका शुभचिन्तकहरूले गर्न सकेका छैनन् ।
त्यसो त देउवामाथि मात्र औंला उठाएर काङ्ग्रेसी दुरावस्थाको यथार्थ चित्रण हुन सक्दैन । पटक-पटक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेर लोकतन्त्रको पहरेदारको पहिचान बनाएको नेपाली काङग्रेसजस्तो पुरानो राजनीतिक दल राष्ट्रले झेलिरहेको यस सङ्क्रमणकालीन एवम् ऐतिहासिक चरणमा अप्रभावकारी र अन्योलग्रस्त देखिएको छ । लोकतान्त्रिक शक्तिहरूलाई एकजुट गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने काङग्रेस यतिबेला आफैं छिन्नभिन्न बनिरहेको छ । पार्टीको साङ्गठनिक यन्त्रतन्त्रहरू खिया परेका र भुत्ते प्रतीत हुन्छन् । महाधिवेशन सम्पन्न भएको सवावर्ष बितिसक्दा पनि अन्तरपार्टी विभाग तथा समितिहरू गठन हुन सकेका छैनन् । विभक्त पार्टीबीच एकीकरण भएको वर्षौं बितिसक्दा पनि फुटको तुष मेटिनुको साटो भावनात्मक दूरी बढ्ने क्रमले निरन्तरता पाइरहेको देखिन्छ । कार्यकर्तालाई ऊर्जाशील तुल्याएर परिचालित गर्ने कुनै नवीन सोच नेतृत्वले अगाडि र्सार्न नसक्दा कार्यकर्तामा निराशा र पलायनवादी चिन्तन दिनप्रतिदिन झ्याङ्गिइरहेको छ । यसरी पार्टीको आन्तरिक जीवनमा पैदा भएको खडेरीका कारण राष्ट्रको यतिखेरको मूल एजेण्डा शान्ति स्थापना र संविधान निर्माणकार्यमै धक्का पुगिरहेको नेपाली काङग्रेसलाई चेत छैन । फगत अर्कोलाई दोषी दर्शाएर आफू निर्दोष देखिने प्रयत्न काङग्रेसजस्तो दलका लागि सुहाउने विषय हुन सक्दैन ।
तर्सथ, काङग्रेसभित्र झगडा हुँदा लोकतन्त्र रुन्छ भनी विश्वास गर्ने जनपङ्क्तिको भावनामाथि मात्र न्याय गर्ने इमानदार प्रयत्न यदि नेपाली काङग्रेस नेतृत्वपङ्क्तिबाट हुन सकेमा मुलुकप्रति ठूलै गुन लाग्ने देखिन्छ । यो वास्तविकता संस्थापन पक्षबाट आफू किनारा लगाउन खोजिएको अनुभूति गर्ने शेरबहादुर देउवा वा उनका शुभचिन्तकहरूले पनि बुझ्न सक्नुपर्छ भने देउवाखेमाबाट अनावश्यक झमेला दिइएको बुझाइमा विश्वस्त कथित संस्थापन पक्षले पनि आफ्ना कमी-कमजोरी केलाउने र गल्ती सच्याउने साहस दर्शाउनैपर्छ । विग्रहको बाटो रचना गरी अघि बढ्ने धृष्टता कसैले नगर्दा हुन्छ, किनकि त्यो तागत वर्तमान राजनीतिक परिवेशमा कुनै पनि दल, समूह र व्यक्तिविशेषसँग छैन ।