एन्फामा सल्कियो भुसको आगो

एन्फामा सल्कियो भुसको आगो


स्वार्थको राजनीतिमा ‘रनभुल्ल’ नेपाली फुटबल

गलत व्यक्तिको पछाडि लाग्दा कर्मा छिरिङ शेर्पा यतिबेला आफै विवादमा परेका छन् । विदेशी नागरिक नवीन पाण्डेलाई ‘चाहिएभन्दा बढी विश्वास’ गर्दा आफ्नो खुट्टामा आफै बञ्चरो हानेका छन् ।
  • श्रीविक्रम भण्डारी

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेवाङबीच चुलिएको विवादले यतिबेला नेपाली फुटबल रनभूल्लमा परेको छ । विश्व फुटबल महासङ्घ (फिफा) द्वारा भ्रष्टाचारी घोषित पूर्व एन्फा अध्यक्ष गणेश थापाविरूद्धको अभियानमा सँगै हिँडेका यी दुई काङ्ग्रेसीबीचको जुँगाको लडाइँका कारण नेपाली फुटबल दिनहुँ प्रभावित बन्दै गइरहेको छ । यसले नेपाली फुटबलमाथि नै सङ्कट निम्त्याउने सम्भावना पनि बढ्दै गइरहेको छ । यसको ज्वलन्त उदाहरण पछिल्लो समय राष्ट्रिय फुटबल टिमका प्रशिक्षक मोहम्मद अब्दुल्लाह अल्मुताइरी र नेवाङबीचको फोहोरी प्रतिस्पर्धा हो । दुई दशकभन्दा बढी एन्फामा एकलौटी शासन जमाएका थापाका कारण थला परेको नेपाली फुटबल उनको बहिर्गमनपछि काँचुली फेर्ने आशा गरिएको थियो । तर, अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेवाङका बीच प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देखिएको अशोभनीय प्रतिस्पर्धाले नेपाली फुटबल झन् विवादित बन्न पुगेको छ । खास भन्नुपर्दा अहिले यी दुवैको टकरावका कारण एन्फामा भुसको आगो सल्किसकेको छ । हिजोसम्म कसिलो डोरीमा बाँधिएका देखिने यिनीहरू अहिले उक्त डोरीलाई झुम्रो बनाउँदै एकअर्कालाई झोसेर सिध्याउने खेलमा देखिएका छन् । परिणामतः एन्फा अहिले गुटबन्दीको केन्द्र बन्न पुगेको छ । जसलाई मलजल गर्ने अनि ‘एन्फा फुटाउ र राज गर’ भन्ने रणनीतिका साथ लागेका केही लोभिपापी स्वदेशी एवम् विदेशी व्यक्तिहरू पर्दापछाडिबाट निकै सक्रियताका साथ चलखेल गरिरहेका छन् । यसबारे सुईंको पाएर पनि एन्फाका पदाधिकारी बेखबरको नाटक मञ्चन गर्दै जग हँसाइरहेका छन्, जो भविष्यमा ती पदाधिकारीका लागि हानिकारक हुने पक्का छ । अब उनीहरूको चेत कहिले खुल्ने हो त्यो चासोको विषय बनेको छ । पञ्चतन्त्रको कथामा उल्लेखित दुई बिरालोको लडाइँमा बाँदरले उठाएको फाइदा जस्तै एन्फामा पनि तेस्रो व्यक्तिले फाइदा उठाएमा अनौठो मानिने छैन ।

फुटबलमा यसरी भित्रिएका थिए शेर्पा र नेवाङ

फुटबलका उत्कृष्ट खेलाडी भएकै कारण गणेश थापा २०५४ सालमा एन्फा अध्यक्षमा नियुक्त भए । थापालाई एन्फाको अध्यक्ष नियुक्त गर्दा तत्कालिन राखेपका सदस्यसचिव केशव स्थापितले मोलेको रिस्क आफैमा प्रशंसायोग्य थियो । थापालाई अध्यक्ष बनाउँदा स्थापितले राजनीतिक रूपमा भोगेको प्रहार एवम् आलोचना थापाले पनि मिहीन रूपबाट महसूस गरेका छन् । सन् १९९८ मा फिफाले नेपाललाई उपलब्ध गराएको गोल प्रोजेक्टअन्तर्गतको रकमको थापाले हिनामिना गरेको आरोप लागेपछि नेपाल सरकारले एन्फामा हस्तक्षेप गऱ्यो । यसपछि सरकारी रोहवरमा भएको निर्वाचनमा मनाङ-मर्स्याङ्दी क्लबका तत्कालिन अध्यक्ष टासी घलेलाई पराजित गर्दै गीता राणा अध्यक्षमा निर्वाचित भइन् । यो निर्वाचनमार्फत कर्मा छिरिङ शेर्पाले फुटबलमा प्रवेश पाए । उनी त्यतिबेला सर्वसहमतिबाट उपाध्यक्ष निर्वाचित भए । फुटबलमा लामो समय काम गरेका कुमार थापा महासचिव र स्वर्गीय ललितकृष्ण श्रेष्ठले पनि उपाध्यक्षमा नियुक्ति पाए । सरकारी सहयोगमा गीता राणाले केही वर्ष फुटबल सङ्घको नेतृत्व गरे पनि उनले फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) को समर्थन जुटाउन सकिनन् । विवादका बीच पनि फिफा र एएफसीको सहयोग थापालाई नै रह्यो ।

लामो समय अन्तर्राष्ट्रिय समर्थन जुटाउन नसकेपछि सरकारलाई फुटबल विवाद सुल्झाउन कर लाग्यो र, उसले सहमतिको बाटो अँगाल्यो । यो अभियानअन्तर्गत २०६२ सालमा भएको सहमतिअनुसार गणेश थापालाई नै अध्यक्ष कायम गरियो । कर्मा छिरिङ शेर्पा पुनः उपाध्यक्ष नियुक्त भए । महासचिवमा कुमार थापा यथावत रहे भने ललितलाई पनि उपाध्यक्ष पदमा स्वीकार गरियो । फिफा र एएफसीका अन्तर्राष्ट्रिय प्रतिनिधि समावेश भएर २०६३ सालमा गरिएको निर्वाचनमा गणेश थापा निर्विरोध निर्वाचित भए । महेश बिष्टलाई वरिष्ठ उपाध्यक्ष र कर्मा छिरिङ शेर्पालाई उपाध्यक्ष नियुक्त गरियो । पहिलेकै सहमतिअनुसार कुमार थापा महासचिवमा निर्वाचित भए भने ललित उपाध्यक्ष बने ।

फुटबल सङ्घमा पंकज नेम्बाङको प्रवेश २०६६ सालको निर्वाचनमार्फत भएको हो । सो समयमा उनका दाजु महेन्द्र सुब्बा एन्फा सदस्य थिए । सन् २००२ मा दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्व कप फुटबल हेर्न जाने क्रममा सुब्बा कोरियामै लुकेर बसे । २०६६ सालमा नेपाली काङ्ग्रेसका नेता नरेन्द्र नेम्वाङ कानुनमन्त्री भएपछि एन्फामा पंकज नेम्वाङको उदय भएको हो । पंकज नरेन्द्रका छोरा भएकै कारण शक्तिकै आडमा उनी एन्फाको केन्द्रीय सदस्य बनेका हुन् । कोरिया लुकेका दाजुलाई कारवाही गराउनुको सट्टा तत्कालिन अध्यक्ष थापाले बुवा कानुनमन्त्री हुँदा भाइ पंकजलाई एन्फामा भित्र्याएर उल्टै पुरस्कृत गरिदिए । बुवा मन्त्री भएकै कारण सोही साल सम्पन्न एएफसीको निर्वाचनमा भाग लिन गणेश थापासँगै पंकज विदेश उडेका थिए । सन् २०१४ मा सम्पन्न एएफसीको साधारणसभामा कतारका मोहम्मद बिन हमामलाई जिताउन गणेश थापाले पैसा खाएको आरोप पहिलोपल्ट लागेको थियो । कुवेती प्रत्यासी शेख अहमदलाई अध्यक्ष पदमा हराउन हमामले गणेश थापाका छोरा गौरवको बैंक खातामा ५०-५० हजार डलर गर्दै दुई किस्तामा एक लाख डलर जम्मा गराएको कुरा अहिले पनि फुटबलमा तातो बहसकै कुरा बनेको छ ।

कर्माको स्वीकार्यता, स्वार्थ-समूहको गठजोड

एन्फामा कर्मा छिरिङको नेतृत्वलाई स्वीकार गर्नु स्वार्थ-समूहको गठजोड भएको प्रस्ट देखिन्छ । फिफा अध्यक्षको प्रत्यासीमा सेप ब्लाटरको नेतृत्वलाई बिन हमामले चुनौती दिएपछि फिफामा व्याप्त भ्रष्टाचारको उत्खनन् सुरु भएको थियो । हमामले फिफाको अध्यक्ष पदमा उठ्न गणेश थापालाई आफ्नो छोराको बैंक अकाउन्टबाट मलेसियामा रहेको थापाको अकाउन्टमा १ लाख डलर ट्रान्सफर गराएका थिए । फिफाको छानवीनमार्फत यो कुरा बाहिरिएपछि गणेश थापाविरूद्ध फिफाले पहिलो पल्ट तीन महिनाका लागि कार्यवाही गऱ्यो । पछि भ्रष्टाचार प्रमाणित भएपछि १० वर्ष प्रतिबन्ध लगायो । नेपालमा गणेश थापाविरूद्ध एन्फा पदाधिकारीले विभिन्न समयमा भ्रष्टाचारको आरोप लगाउँदै आन्दोलन नगरेका होइनन् । तर, आन्दोलन गर्ने व्यक्ति कुनै न कुनै रूपमा गणेश थापाको आर्थिक चलखेलमा मुछिएका कारण उनीहरू सफल हुन सकेनन् । तर, पछि कर्मा छिरिङ शेर्पाले चलाएको आन्दोलनमा सबै समाहित भए ।

आन्दोलनले उग्र रूप लियो र फुटबलमा परिवर्तनको आवाज बुलन्द हुँदै गयो । कर्माले नेतृत्व गरेको गणेश थापाविरूद्धको आन्दोलनमा पंकज पनि सहभागी थिए । फिफाद्वारा आफूविरूद्ध छानवीन हुँदा थापाले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूनिकट ललितकृष्ण श्रेष्ठलाई दिए । ललित कार्यवाहक भएकै बेला थापाले फिफाको निर्वाचनमा उनलाई भोट हाल्न नपठाएर तत्कालिन केन्द्रीय सदस्य वसन्त अर्याललाई पठाएका थिए । यो घटनाबाट दुःखित ललितको केही समयपछि घरमा करेन्ट लागेर दुःखद निधन भयो । थापालाई उनको कार्यकाल सम्पन्न हुन डेढ वर्ष बाँकी रहँदा फिफाले भ्रष्ट्राचारको आरोपमा कार्यवाही गऱ्यो । यसपछि भएको मध्यावधि निर्वाचनमा थापा समूहले नरेन्द्र श्रेष्ठलाई उठायो । अर्को पक्षबाट कर्मा छिरिङ उठेका थिए । मध्यावधि चुनावमा टासी घलेको ‘डबल गेम’का कारण कर्मा मात्र दुई भोटले पराजित भए । नरेन्द्रको जितपछि थापाको उत्साह निकै बढ्यो । उनले एन्फामा मोर्चाबन्दी नै गर्न लगाए । केही समय आफूअनुकुल एन्फालाई चलाए पनि । तर, २०७४ सालको निर्वाचनमा नरेन्द्रको सट्टा आफ्नै साला मणि कुँवरलाई उठाउने थापाको रणनीतिले लामो समय फुटबलमा सक्रिय प्रायः पदाधिकारीलाई रुस्ट बनायो । यसको प्रत्यक्ष फाइदा कर्मालाई भयो । मणिविरूद्ध कर्माको खेमामा वीरबहादुर खड्का, इन्द्रमान तुलाधर, खेलाडीको नेतृत्व गरिरहेका उपेन्द्रमान सिंह र जिल्ला फुटबल सङ्घका केही पदाधिकारी खुलेर लागे । कर्मा भारी अन्तरले विजयी हुँदै एन्फामा पूर्ण रूपमा उदाए । कर्माले कुँवरलाई ६३-१३ मतको अन्तरले पराजित गरेका थिए ।

कर्माको उदय र झगडाको बिउ

कर्मा छिरिङ शेर्पा २०७४ सालमा एन्फा अध्यक्षमा निर्वाचित हुँदा उनी विभिन्न स्वार्थ-समूहले घेरिएका थिए । जसरी पनि निर्वाचन जित्ने अभियानमा स्वार्थ-समूहसँग गठ्जोड गर्नु नै कर्माको ठूलो भूल थियो । अहिले यो नै नेपाली फुटबलका लागि दुर्भाग्य बन्न पुगेको छ । कर्माको चुनावी अभियानसम्म आफ्नो स्वार्थ ‘मनभित्र लुकाएर राखेका’ ती पदाधिकारीको हर्कत पछिल्लो समय उदाङ्गिएको छ । एन्फा अध्यक्षमा कर्मा नियुक्त भएपछि त्यतिबेलादेखि नै पंकज नेम्वाङ र कृष्ण थापाको समूहले दबाब दिन थालेको थियो । सो समुहले महासचिव पदमा मनोनित इन्द्रमानलाई हटाउन निकै दबाब दिए पनि कर्माले नमान्दा विवादको बिजारोपण त्यहिँबाट शुरू भएको थियो । त्यस्तै अध्यक्ष कर्माले एन्फा पदाधिकारीसँग कुनै छलफल र सल्लाह नै नगरी विदेश विभाग जस्तो महत्वपूर्ण स्थानमा जर्मन नागरिक नवीन पाण्डेलाई नियुक्त गरेर आफूलाई तानशाहको रूपमा प्रस्तुत गर्न खोजे । यो उनको ठूलो भूल थियो, यसर्थमा कि उनी संस्थागत तवरले नभई स्वच्छाचारी ढङ्गले यो मामलामा अगाडि बढ्न खोजेको प्रस्टै देखिन्थ्यो । दुई दशक अवधि नेपाली फुटबलमा सक्रिय भएका व्यक्तिलाई पाखा लगाउँदै पाण्डेलाई मस्को विश्वकप फुटबल हेर्न लैजाने, फिफा कंग्रेसमा समावेश गराउने, मलेसियामा भएको एएफसी कंग्रेस, बहराइनको एएफसी मिटिङ र कोरिया पठाउने निर्णयले अध्यक्ष शेर्पाप्रति सबै रुस्ट र आक्रोशित थिए । एन्फाको कार्यसमितिको बैठकमा मानार्थ अध्यक्ष टासी घले तथा नेम्वाङ समूहका केही पदाधिकारीले पाण्डेविरूद्ध प्रश्न उठाउँदा अध्यक्ष शेर्पा मौन रहनुले पनि एन्फामा विवादको धाँजा कोरिन पुग्यो, जुन अहिले एन्फाको लागि दुर्भाग्य बनेको कसैबाट छिपेको छैन ।

अध्यक्ष शेर्पाकै कमजोरी र मौनताले गर्दा एन्फामा बेथिति चुलिएको थियो । अन्यथा एउटा विदेश विभाग प्रमुख पाण्डेले आफुलाई एन्फाको सर्वेसर्वा भएको देखाउने दुःस्साहस कदापि गर्न सक्तैनथे । पाण्डेले आफ्नो पदीयदायित्व बिर्सिएर नेपालका ख्यातिप्राप्त खेलाडी बालगोपाल महर्जन, उपेन्द्रमान सिंह र हरि खड्का तथा एन्फा पदाधिकारीको मानमर्दन गर्दासमेत अध्यक्ष शेर्पाले मौनता साँध्नु आफैमा रहस्यमयी कुरा थियो । सो क्रममा पाण्डेले दबाब दिँदै फुटसलमा आफूले चाहेका व्यक्तिलाई अध्यक्ष बनाउनु र डाइरेक्टरलगायत सम्पूर्ण पदाधिकारी आफूअनुकुल बनाएर एन्फाले झैँ समानान्तर गतिविधि सञ्चालन गर्न खोजेपछि मात्रै अध्यक्ष शेर्पाको होस खुलेको थियो । त्यसको केही समयपछि पाण्डेले एन्फालाई जानकारी नै नदिइ आफ्नो एकल पहलमा राष्ट्रिय टिमका लागि विदेशी प्रशिक्षकमा रेनी कोस्टरलाई ल्याउन खोजेपछि शेर्पा र पाण्डेको सम्बन्ध झनै बिग्रिन पुग्यो । शेर्पाले औंला दिँदा पाण्डेले डुँडुलो नै निल्न खोज्दा उनीहरूको सम्बन्ध चिस्सियो र, शेर्पा पाण्डेलाई उनको जिम्मेवारीबाट हटाउन बाध्य भए । यसरी एउटा विदेशी नागरिकलाई उसको योग्यता र क्षमताभन्दा बढी अधिकार दिने र विश्वास गर्ने अध्यक्षको कार्यप्रति अहिले प्रश्नचिन्ह खडा हुनु स्वभाविकै हो । त्यस्तै, एन्फामा वरिष्ठ उपाध्यक्षको दाबी चलिरहँदा पंकज र वीरबहादुरबीच पनि अन्तरसङ्घर्ष चर्किएको थियो । वीरबहादुरले पंकजलाई जुनियर भन्दै नस्वीकार्ने बताएपछि शेर्पाले यसको हल निकालेका थिए । शेर्पाकै पहलमा पछि पंकजलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरिएको थियो ।

नवीन, पंकज र गणेशको गठजोड

गलत व्यक्तिको पछाडि लाग्दा कर्मा छिरिङ शेर्पा यतिबेला आफै विवादमा परेका छन् । विदेशी नागरिक नवीन पाण्डेलाई ‘चाहिएभन्दा बढी विश्वास’ गर्दा आफ्नो खुट्टामा आफै बञ्चरो हानेका छन् । हिजो शेर्पालाई अध्यक्ष बनाउन आफ्नो बलबुताले भ्याएसम्म सहयोग गरेकाहरू अहिले पाण्डेकै गलत नियुक्तिका कारण चिडिएका छन् । साथै उनीहरू जुनसुकै हालतमा कर्मालाई ढाल्ने अभियानमा गणेश थापाको शरणमा पुग्नुले पनि यो कुरालाई प्रस्ट पारेको छ । यो घटनापश्चात गैरफुटबल पदाधिकारी भएर पनि एन्फामा भूसको आगो सल्काउन पाण्डे सफल भएका छन् । यतिबेला पाण्डे अध्यक्ष शेर्पालाई ढाल्न पंकज नेम्वाङलाई डमीको रूपमा प्रयोग गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण, केही महिनाअघि थापाको घरमा आयोजना गरिएको छलफलबाट पनि यो कुरा पुष्टि हुन्छ । फिफाको प्रतिबन्धका कारण थापा भने उक्त छलफलमा अनुपस्थित थिए ।

कर्माको विरोधमा पंकजको नामबाट फिफा तथा एएफसीमा पत्राचार गर्ने पाण्डे एण्ड कम्पनी यतिबेला कर्मालाई खलनायक सावित गर्न अभियान नै चलाएका छन् । जसको लागि उनीहरूले विभिन्न राजनीतिक दलका नेतादेखि फिफा र एएफसीसम्म अफवाह फैलाउन कुनै कसर बाँकी राखेका छैनन् । प्राप्त जानकारीअनुसार आगामी निर्वाचनबाट कर्मालाई फ्याँक्ने अभियानमा अहिले गणेश थापा र नवीन पाण्डेको नेतृत्वमा पंकज नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा, किरण राई, टासी घलेलगायतका पदाधिकारी न्वारनदेखिको बल लगाएर हिँडेको बुझिएको छ । तर, एन्फाका यी ‘मनोनित प्रतिनिधि’को अभीष्ट के आगामी निर्वाचनमा पूरा होला ? नेपाली फुटबलमा यो चर्चा र बहसको विषय बनेको छ ।