बेसहाराको घर ‘माया घर’

बेसहाराको घर ‘माया घर’


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानीलगायत देशका विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका तथा लालनपालनमा समस्या देखिएका अबोध बालबालिकाको आश्रय स्थल बनेको छ ‘माया घर’ । काठमाडौंको कीर्तिपुर-४, विष्णुदेवि मन्दिरी नजिक रहेको यो माया घरमा अहिले २६ जना बालबालिकाको लालनपालनदेखि पठनपाठनसमेत हुने गरेको छ ।

स्थानीयको राम्रो सहयोग पाएपछि भागवत पुराण कथावाचनबाट संकलन भएको रकमले जग्गा खरिद गरेर अहिले चार तले भवन निर्माण पनि थालिएको छ । ‘पुराणबाट संकलन भएको रकमले स्थानीयले नै करिव ५ आना जग्गा खरिद गरेर महिला तथा बालविकास मञ्च, नेपालको नाममा राजीनामा पास गर्दै अहिले भवन निर्माण सुरु गरिएको छ, तर भवन निर्माणमा लाग्ने खर्चको जोहो भने हुन सकेको छैन’, संस्थाकी अध्यक्ष तथा माया घरकी सञ्चालिका दुर्गा पौडेलले भनिन् ।

१३ वर्षअघि स्थापना भएको यो माया घरमा बुबा र आमाको पहिचान नभएका, बुवा वा आमाले छोडेर बेवारिसे बनेका र बेवारिसे अवस्थामा फेला परेका बालबालिकालाई ल्याएर राख्दै पठनपाठन गराउने गरिएको छ । स्थानीय सामुदायिक विद्यालयले ती बालबालिकालाई निः शुल्क पठनपाठनको व्यवस्था गरेको छ भने उनीहरूलाई आउन र जानका लागि प्रतिबालबालिका ८ सय रुपैयाँका दरले गाडी भाडा तिर्ने गरिएको छ ।

यो संस्थाको मुख्य श्रोत भनेको स्थानीयले जन्मोत्सवका अवसरमा दिने दान नै हो । कसैले चामल, दाल, तरकारी, तेल दिन्छन्, त्यसैबाट बालबालिकालाई खुवाउने गरिएको अध्यक्ष पौडेलले घटना र विचारलाई बताइन् । यो माया घरमा मासिक रुपमा करिव ४५ हजार रुपैयाँ खर्च हुन्छ भने बालबालिका बस्नका लागि लिएको टहराको भाडा पनि १० हजार रुपैयाँ तिर्नु परिरहेको छ ।

यहाँका बालबालिकालाई कक्षा ८ उत्तीर्ण गरेपछि उनीहरूको विगतको जानकारी दिने गरिन्छ र, प्लस टु उत्तीर्णपछि आफैं आफ्नो व्यवस्था गर्न सक्ने बनाएर पठाउने गरिएको छ । यहाँ रहेका बालबालिकाको पढाइ राम्रो रहेको संस्था जनाउँछ । ‘ए प्लस’सम्म ल्याएर उत्तीर्ण भएका बालबालिकाको पढाइ राम्रो भएको मानिन्छ । यो माया घरकी सञ्चालिका पौडेलले बेवारिसे अवस्थामा भेटिएका र केही किनिएका समेत चार वटा गाई पनि पालेकी छन् । ती गाईको दूध केही बेच्ने र केही बालबालिकालाई खुवाउने गरिएको छ ।

भवन निर्माण सुरु भएकोले आगामी साउनसम्ममा एक तला पूरा हुने र त्यहाँ माया घर सार्ने योजना रहेको बताइएको छ । यहाँ दशैं र असारको आसपासका समयमा भने खाद्यान्न र अन्य उपभोग्य सामानको अभाव हुने गरेको छ । त्यो समयबाहेक भने दाताले उपलब्ध गराएका सामानले नै माया घर सञ्चालनमा समस्या नरहेको पौडेलले बताइन् ।