दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा


पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।

प्रतापपुर गाउँपालिका-७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले जानकारी दिए । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उनको भनाइ छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको हो ।

नेपाल-भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताए । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उनले जानकारी गराए । हरेक वर्ष भारतीय पक्षले कात्तिक-मङ्सिर र चैत-वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ ।

पन्ध्र मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताए । तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन बिग्रेर थन्केको छ । यसैगरी गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिर्वतन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनले भने ।

photo: rss