नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आइतबार सो पार्टीका उपाध्यक्ष डा. भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।
पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १०बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका हुन् ।
महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आएका प्रेस संयोजक गणेश पाण्डेको दाबी छ । प्रतिनिधिसभाको विघटन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ । अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा माधव नेपाल पक्षले नयाँ पार्टी खोल्न सक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरु विभाजनको विपक्षमा उभिएका छन् ।
उता गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आइतबार मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी गराउँदै भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको बताए ।
प्रतिक्रिया