कानुनअनुसार नै जग्गा अधिग्रहण गरिएको एमसीए नेपालको जिकिर

कानुनअनुसार नै जग्गा अधिग्रहण गरिएको एमसीए नेपालको जिकिर



एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको जिकिर गरेको छ । सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को अनुदान सहयोगमा एमसीए-नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब-स्टेशनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ ।

उक्त सब–स्टेशनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको एमसीए नेपालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सब-स्टेशन पनि रहने गरी जग्गा अधिग्रहण गरिएको र यस क्रममा त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहण गरिएको विज्ञप्तिमा उल्लेख छ । ती जग्गा एवम् ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम विद्यमान कानुन र अन्तर्राष्ट्रिय वातावरणीय निर्देशिका एवम् मापदण्डअनुसार भुक्तानी गरिएको बताइएको छ ।

सब-स्टेशन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सरकारले गठन गरेको एमसीए-नेपाल विकास समितिले गरेको छ । विकास समिति ऐन, २०१३ ले दिएको अधिकारअनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण चलअचल सम्पत्ति एमसीए-नेपाल विकास समितिले खरिद गर्ने र ती सम्पत्ति एमसीए-नेपालको नाममा मात्र दर्ता भएको छ । अनुदानअन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौताअनुरूप राख्न नमिल्ने जानकारी गराइएको छ ।

अधिग्रहण गरिएका जग्गा हाल अर्थ मन्त्रालयअन्तर्गतको एमसीए-नेपाल विकास समितिको नाममा रही निर्माण सम्पन्न भएपछि उक्त विकास समिति विघटन गरिएपश्चात् उक्त सब-स्टेशन, त्यहाँ निर्माण गरिएका अन्य संरचना र जग्गाको पूर्ण स्वामित्व सरकारको निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायलाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।