माओवादीमा अब युवालाई २० प्रतिशत हिस्सा, महिला सहभागिता ३५ प्रतिशत रहने

माओवादीमा अब युवालाई २० प्रतिशत हिस्सा, महिला सहभागिता ३५ प्रतिशत रहने



नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ । शनिबार शुरु भएको केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको हो ।

पारित भएको प्रस्तावबमोजिम अब माओवादी केन्द्रको जिल्ला समितिहरू खारेज भएका छन् । संविधानको व्यवस्थाअनुसार अब सङ्घमा केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र स्थानीय तहमा स्थानीय समितिहरू रहने छन् । प्रदेश र स्थानीय समितिलाई समन्वय गर्नका लागि जिल्ला समन्वय समिति रहने छ । अन्य राजनीतिक दल संविधानअनुरूप अगाडि बढ्न नसकेको अवस्थामा माओवादीले नेपालको संविधानले व्यवस्था गरेको राजनीतिक प्रणालीअनुसार आफूलाई ढाल्ने प्रयास गरेको बताइएको छ ।

केन्द्रीय समितिको बैठकबाट पारित विधानअनुसार अब केन्द्रीय समितिमा युवाले २० प्रतिशत हिस्सा पाउने भएका छन् । यस्तै महिलाको स्वामित्व ३५ प्रतिशत निश्चित गरिएको छ भने दलितलाई केन्द्रमा १५ प्रतिशतको हिस्सेदारी गराइनेछ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने- ‘समाजवादी क्रान्तिको तयारीका लागि सबै वर्ग तथा समुदायलाई नेतृत्व तहमा स्थापित गर्ने लक्ष्यअनुसार यस्तो व्यवस्था गरिएको हो ।’

माओवादीले वाम-लोकतान्त्रिक गठबन्धनलाई पूर्ण रूपमा सफल बनाउने र आगामी निर्वाचनसम्म कायम राख्ने भएको छ । यसै आधारमा वर्तमान सरकारलाई ‘जनपक्षीय’ बनाउँदै सफल बनाउने निष्कर्ष निकालेको छ । वाम लोकतान्त्रिक गठबन्धनको सरकारलाई पूर्ण कार्यकाल र प्रतिनिधिसभालाई पनि पूर्ण कार्यकाल कायम राख्ने गरी सफल बनाउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने माओवादीको निर्णय छ ।

यस्तै, माओवादीले आगामी पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ । केन्द्रीय समितिको बैठकमा टोली नेताले दिनुभएको सुझावका आधारमा आवश्यक निर्णय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्न विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहगत छलफलमा आएको सुझावलाई समेटेर विभिन्न प्रतिवेदनहरू पारित गरिएको बताइएको छ ।