अफगानिस्तानमा रहेका नेपाली चाँडो फर्काउन सांसदहरुको आग्रह
प्रतिनिधिसभाको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए । उनले दार्चुलामा जयसिंह धामी घटनाको छानबिन गर्न सरकारले बनाएको समितिले लामो समयसम्म पनि प्रतिवेदन नदिएकामा आक्रोश व्यक्त गरे ।
सांसद मनकुमारी जिसीले आफगानिस्तानमा रहेका नेपाली समस्यामा हुँदा पनि सरकार चुप लागेको र दार्चुला घटनामा उच्चस्तरीय समिति अझैसम्म बन्न नसकेको औँल्याइन् भने सांसद रेखाकुमारीले अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि धेरैले आआफ्ना नागरिक फिर्ता बोलाए पनि सरकारलाई अझै आफ्ना नागरिकको अवस्था के छ भन्नेसमेत जानकारी नभएको बताइन् ।
यस्तै, सांसद विमला नेपालीले सर्वोच्च अदालतले आर्थिक अवस्थाका आधारमा र एकपटक मात्रैका लागि आरक्षण दिने निर्णय संविधान र ऐनमा बाझिएको तथा यसले दलित, मधेशी, महिलालगायतको अपमान गरेको धारणा राखिन् ।
सांसद विमला विकले दार्चुला घटना भएको १८ दिन हुँदा पनि नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसकेको आरोप लगाइन् भने सांसद भरकुमार शाहले कूटनीतिक पहल गरेर अफगानिस्तानबाट नेपाली फर्काउनुपर्नेमा जोड दिए ।
यसैगरी सांसद भवानीप्रसाद खातुनले बेलायती र गोर्खा सैनिकबीच समान व्यवहारको माग राख्दै पटकपटक आन्दोलन भएर विगतमा विभिन्न समझदारी भए पनि त्यसको कार्यान्वयन नभएकाले सरकारको ध्यानाकर्षण गराए । सांसद भीमसेनदास प्रधानले भूमाफियाले बालुवा खानी र प्लटिङ गर्दा वातावरण क्षय भएकाले काठमाडौं उपत्यकामा हरियाली मासिएको मुद्दा उठाए । सांसद महेन्द्रकुमारी लिम्बूले चाहिँ अँध्यारोलाई उज्यालो बनाउन कुलमान नियुक्ति गरेको र सरकारले खोप ल्याउन पहल गरिरहेको भन्दै सरकारको प्रशंसा गरिन् ।
सांसद महेश बस्नेतले सरकारले अझैसम्म अफगानिस्तानबाट नेपाली फर्काउन ढिलाइ गरिरहेकाले यसअघिको सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गरेको कुराबाट सिक्नुपर्ने औंल्याए । सांसद महेश्वरजंग गहतरातले सडक बनिसकेका स्थानमा पुल चाँडो निर्माण सम्पन्न गरेर हुलाकी राजमार्ग चालू हुनुपर्नेमा जोड दिए ।
सांसद मिना सुब्बाले समान हकको माग गर्दै अनशनमा रहेका गोर्खा नेपालीको स्वास्थ्य अवस्था नाजुक भएकाले त्यसमा सरकारले विगतमा भएका समझदारी कार्यान्वयन गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिइन् । सांसद मिना पाण्डेले सरकारले अफगानिस्तानमा भएका नेपालीका चाँडो उद्धार गर्नुपर्ने र देशभित्रै बाढी, पहिराको आक्रन्त बनाएका नागरिकको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् । सांसद मैनाकुमारी भण्डारीले गम्भीर समस्या भएका दुर्गम जिल्लाका नागरिकलाई हेलिकप्टरबाट अस्पताल पुऱ्याएर उपचार गर्नुपर्ने औँल्याइन् ।
सांसद मोहन बानियाँले सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत तथ्याङ्क नभएकाले म्यानपावरको तथ्याङ्कमा भर परेको आरोप लगाए भने सांसद यज्ञबहादुर बोगटीले कोभिड सङ्क्रमण बढिरहेको जिल्ला र पालिका अस्पतालमा डाक्टरको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
सांसद यज्ञबहादुर सुनुवारले कुनै पनि देशमा सरकार त्यहाँका नागरिकले सहयोग नगरे सत्तामा नटिक्ने र देश नै छाड्नुपर्ने अवस्था निम्तिन सक्ने अफगानिस्तानबाट देखिएको औंल्याए ।
तस्बिर रासस
प्रतिक्रिया