अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि ‘सबै संयन्त्र’ परिचालन गरिने

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि ‘सबै संयन्त्र’ परिचालन गरिने



अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको सम्बद्ध निकायको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै गहमन्त्री खाणले अगफानिस्तानको घटनाले नेपालमा पनि केही न केही प्रभाव पर्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न आग्रह गरे ।

त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काएपछि गर्नुपर्ने तयारीका बारेमा समेत उनले सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार अफगानिस्तानबाट स्वदेश फर्काएपछि गर्नुपर्ने स्वास्थ्य परीक्षणको व्यवस्था, कोरोना सङ्क्रमतिको उपचारको व्यवस्था र अरूलाई घरसम्म पु¥याउने संयन्त्रको समेत व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।

सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर गर्नुपर्नेमा जोड दिइएको छ ।

सो बैठकमा गृहसचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि र अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत रूपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका लागि गठित कार्यदलका सदस्यको सहभागिता थियो ।

बैठकमा परराष्ट्र मन्त्रालयले हाल अफगानिस्तानमा रहेका नेपालीको अवस्था, उनीहरूको सुरक्षा र सुरक्षित तवरबाट स्वदेश फर्काउन भइरहेका प्रयासका बारेमा जानकारी गराइएको थियो । सुरक्षा निकायका प्रमुखले सो घटनाबाट मुलुकमा पर्न सक्ने प्रभाव र सुरक्षाका सम्बन्धमा अपनाउनुपर्ने सावधानीका बारेमा प्रस्तुति गरेको गृह मन्त्रालयले जनाएको छ ।

ज्ञातव्य छ, सरकारले आइतबार परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपालीको उद्धारका लागि समन्वय गर्न कार्यदल गठन गरेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्नसमेत आग्रह गरेको छ ।

Representative image