पार्टीको नीति र निर्देशनबमोजिम काम नगरेको अभियोगमा नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको छ ।
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीतिविपरीत २२ जना एमालेका सांसदले विश्वासको मत दिएका थिए । ती सांसदलाई एमालेले साउन ६ गते स्पष्टीकरण सोधेको थियो । तीमध्ये १४ जनालाई राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरिएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिएकी छन् ।
पार्टीभित्रको आन्तरिक एकताका लागि एमालेको संसदीय दल र स्थायी कमिटीको बैठक मंगलबार भएको थियो ।
कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।
यसरी पार्टीले कारवाही अघि बढाएपछि माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरू सधँै तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने अभिव्यक्ति दिएका छन् ।
आफूनिकट जनसङ्गठनको पदाधिकारीहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने धम्की दिएका छन् ।
प्रतिक्रिया