यतिबेला संयुक्त अरब इमिरेट्समा शरण लिएका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको कुरा दोहोर्याएका छन् । उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेका थिए ।
उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवार पनि रहेका छन् ।
हिंस्रक रूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गएको आइतबार देश छोडेका थिए ।
देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गरेका हुन् ।
उनले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका हुन् । त्यसक्रममा उनले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गरेका छन् ।
उनलाइ आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अफ्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरु र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए ।
गएको आइतबार यता काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका सिन्ह्वाले जनाएको छ ।
काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ । सडकमा महिलाको संख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।
काबुल अन्तरराष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका लडाकू तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ ।
प्रतिक्रिया