जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी

जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी



पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।

गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ । अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा वि.सं. २०७७ चैत २७ मा पक्राउ गरी ६ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिप्रका प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिँदै भने, ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन, जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्ने गरी खोजी भइरहेको छ ।’

यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको जनाउँदै विसं २०६८ मा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताउनुभयो । विसं २०६८ कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम रु १० लाख १७ हजार ९५ रहेको पनि मल्लको भनाइ छ ।

‘किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कन्स्ट्रक्शन प्रालि भन्ने रहेको छ । बा२ख ३२८४ नंको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो’, उनले भने, ‘उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ । बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । यसबारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।’

नेपाली कांग्रेसको कोषाध्यक्षसमेत रहेका मल्लले आगामी १४औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारको तयारी गरेका छन् । जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदारसमेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको उनको गुनासो छ । ‘फैसला भएको पनि मलाई त थाहा नै छैन । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ, मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठूलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ’, उनको भनाइ छ ।

हिमालयन अटोका प्रोप्राइटर ध्रुवबहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताए । ‘उनले साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैँले लगेका पनि होइनन् । जमानी बसेका कारण यो अवस्था आएको हो, पैसा पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू ‘डिसमिस’ भएको छु, उनले बताए ।