प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय स्थापना

प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय स्थापना



प्रस्तावित नेपाल सहकारी बैंक (प्रस्तावित) को सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रस्तावित बैंकले काठमाडौंको मध्यबानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिनापछि करोबार सञ्चालन गर्ने गरी कार्यालय खोल्ने भएको छ । प्रस्तावित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउँदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।

नेपाली काग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैंक सञ्चालनमा आउने जानकारी दिए । पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंक अपरिहार्य रहेको भन्दै उनले भने- ‘जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अघि बढेको हो ।’

नेता ढुंगानाले एउटा मात्र बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएकोमा खुसी लागेको उल्लेख गर्दै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने बताए । प्रस्तावित सहकारी बैंक स्थापना गर्ने चाहना प्रधानमन्त्री शेरबहादुर देउवाको समेत रहेको उनले खुलासा गरे ।

प्रस्तावित बैकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने दाबी गर्दै भने- ‘लाइसन पाउनासाथ कारोबार शुरु गरिहाल्नेछौँ ।’

‘केही साथीले यो बैंकलाई नेपाली कांग्रेसको बैंक भनेर हल्ला गर्दै हिँडेका छन्, केहीले त बैंक खोल्न दिनै हुँदैन भन्ने गरेका छन् । तर म भन्छु यो बैंक कुनै पार्टीविशेषको नभै देशैभरका सहकारीहरूको सेवामा समर्पित बैंक हो, यसलाई पार्टीविशेषको हो भन्न मिल्दैन’– भण्डारीको भनाइ छ ।