विधिको बाटो छोडेर कांग्रेस इतिहासकै कमजोर बनेको नेता सिंहको प्रष्टोक्ति

विधिको बाटो छोडेर कांग्रेस इतिहासकै कमजोर बनेको नेता सिंहको प्रष्टोक्ति



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । कांग्रेस चन्द्रागिरि नगरसमितिद्वारा शनिबार काठमाडौंमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा उहाँले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो ।

‘विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागतरूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिङ्ग अवस्थामा पुग्यो’, उहाँले भन्नुभयो । महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुङ्ग्याउन नसक्नु दुःखद् भएको उहाँको भनाइ थियो ।

पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो । विधि र नियम पुऱ्याएकालाई क्रियाशील सदस्यता दिनुपर्ने नेता सिंहको भनाइ थियो ।

नेता सिंहले १३औं महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको औंल्याउनुभयो । आफू पार्टीसभापतिको जिम्मेवारी निर्वाह गर्न सबै दृष्टिले सक्षम रहेको भन्दै आमजनताको दुःखमा मल्हमपट्टी लगाउनको लागि पनि आफू कांग्रेस सभापति बन्नुपर्ने सोचमा पुगेको र अब सभापतिको उम्मेदवारी दिनबाट कुनै हालतमा पछि नहट्ने उहाँले उदघोष गर्नुभयो ।

उहाँले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको सङ्घर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पार्नुभयो । पार्टी १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने तर्क उहाँले गर्नुभयो ।

सो अवसरमा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले कांग्रेसलाई बलियो बनाउनका लागि गाउँदेखि नै सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । कांग्रेसका नेता एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्रको गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।