करोडौँको राजश्व छली गर्न सकिने नक्कली स्टीकरसहित दुई जना पक्राउ

करोडौँको राजश्व छली गर्न सकिने नक्कली स्टीकरसहित दुई जना पक्राउ


  • पुनहरि बेल्बासे, भैरहवा

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट डण्डा, रुपन्देहीले दुई व्यक्तिका साथबाट करोडौँ रुपैयाँको राजश्व छल गर्न सकिने आन्तरिक राजश्व विभागको नक्कली स्टीकरसहित उनीहरुलाई पक्राउ गरेको छ ।

पोष्टका सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद आर्यालको नेतृत्वमा खटिएको ९ सदस्यीय मोवाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–३, दरखसवास्थित एक घरबाट २ लाख ४० हजार वटा आन्तरिक राजश्व विभागको नक्कली स्टीकर शुक्रबार राति बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा उक्त घरमा छापा हानेर घरधनी २३ वर्षीय सहिद अन्सारी र उक्त ठाउँकै २४ वर्षीय अमानत अलीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

‘आन्तरिक राजश्व विभाग’ लेखेर छापिएको प्रतिरोल ३ हजारका दरले ८० वटा रोल बरामद भएको बताइएको छ ।

राजस्व कार्यालयको प्रारम्भिक अध्ययनअनुसार बरामद गरिएका ती स्टीकरबाट अन्तःशुल्क, भ्याट र आयकर गरि २ करोड ३५ लाख ६३ हजार रुपैयाँ भन्दा धेरै राजश्व छलि हुन सक्ने देखिन्छ ।

पक्राउ परेका व्यक्तिको बयानको आधारमा ती स्टीकर ढुवानीका लागि प्रयोग गरिएको लु २ च २५० नम्बरको गाडी पनि नियन्त्रणमा लिई राजस्व कार्यालय बुझाइएको अर्यालले बताए ।