वीर बिश्वेश्वर मुर्दावाद ! तानाशाह देउवा जिन्दावाद !!

वीर बिश्वेश्वर मुर्दावाद ! तानाशाह देउवा जिन्दावाद !!


(ब्यङ्ग्य)
कस्ता-कस्तालाई च्याप्नुभो बीपीले ? कस्ता-कस्ताको संगत गर्नुभो ? आजीवन काङ्ग्रेस भएर सत्ताको स्वाद लिँदा एउटा घरसमेत जोड्न नसकेर अर्काको घरमा प्राण त्याग्ने भीमबहादुर तामाङ्गलाई आफ्नो कार्यकर्ता देख्नुभो ! राजाले दिएको प्रधानमन्त्रीको कुर्सी सजिलै त्यागी अर्कालाई जिम्मा लाउने गणेशमानलाई साथमा राख्नुभो ! बालुवाटारबाट निस्किँदा छाता, सुराही र थोत्रे बाक्सा मुलुकलाई दान नदिई काखी च्यापेर निस्किने लोभी किशुनजीलाई काङ्ग्रेस जिम्मा लाउनुभो ! एक जोर जुताको मोह नराखी खाली खुट्टा हिँड्ने शंकर पाण्डे जस्तो कंगाललाई काङ्ग्रेसको दियो देख्नुभो !
  • ज्ञानमणि भुर्तेल

जिसे ढुँढते थे गलिगली ! ओ मकान के पिछवाडे मिली !!

हैट ! कहाँ कहाँ खोजिएन ? कता कता कुँदिएन ? आखिर भेटिए आफ्नै कान्लामा ! अब भोजपुर खुकुरी र सुन्तलाको लागि मात्र प्रख्यात रहेन ! भोजपुरको ख्यातिमा अब उमेश नामको सन्तको नाम समेत जोडिन पुगेको छ ! विद्वान् गुरु षडानन्द र योगमाया जस्ता वीरङ्गनाको नामले चिनिदै आएको भोजपुर अब इतिहासमा दानवीर उमेश स्वामीका नामले चिनिनेछ ! मुलुकले थप एउटा अनमोल रत्न प्राप्त गरेको छ ! यस अभुतपूर्व खोजका लागि आरजु मेडम र खोज अनुमोदनका लागि देउवा सर धन्यवादका हकदार हुनुहुन्छ ! यस अस्वीकार सँगसँगै काङ्ग्रेस पार्टी पनि धन्य भएको छ आज ।

विगतको बीपीको ताल सम्झिँदा दिक्क लाग्छ, अनि वर्तमानको देउवाको जाल सम्झिँदा मन रोमाञ्चक हुन्छ ! कस्ता-कस्तालाई च्याप्नुभो बीपीले ? कस्ता-कस्ताको संगत गर्नुभो ? आजीवन काङ्ग्रेस भएर सत्ताको स्वाद लिँदा एउटा घरसमेत जोड्न नसकेर अर्काको घरमा प्राण त्याग्ने भीमबहादुर तामाङ्गलाई आफ्नो कार्यकर्ता देख्नुभो ! राजाले दिएको प्रधानमन्त्रीको कुर्सी सजिलै त्यागी अर्कालाई जिम्मा लाउने गणेशमानलाई साथमा राख्नुभो ! बालुवाटारबाट निस्किँदा छाता, सुराही र थोत्रे बाक्सा मुलुकलाई दान नदिई काखी च्यापेर निस्किने लोभी किशुनजीलाई काङ्ग्रेस जिम्मा लाउनुभो ! एक जोर जुताको मोह नराखी खाली खुट्टा हिँड्ने शंकर पाण्डे जस्तो कंगाललाई काङ्ग्रेसको दियो देख्नुभो ! पञ्चायती राज्यले सारा सम्पत्ति लुटेर सडकमा ल्याइ नाङ्गेझार पार्दासमेत बिचलित नभै काङ्ग्रेस जपेर बस्ने तुर्सा हेमरमलाई काङ्ग्रेस रत्न ठान्नुभो ! आफ्नो नाङ्गो पिठ्युँको चिन्ता छोडेर शिरमा काङ्ग्रेस बोकेर हिँड्ने त्यही तुर्सा हेमरमको घरमा पसेर सभासदको खोल ओढेर मन्त्री पड्काउँदै एउटा शैक्षिक बनियाँको आधा सम्पत्ति राज्यलाई दिने उधारो उद्घोष भन्दा अनुपम उपहार काङ्ग्रेसका लागि अरु के हुन सक्छ ?

निकै अघि सुम्निमा पढेपछिको गडतौला सरको बीपीप्रतिको टिप्पणी याद भो- साहित्य साधनामा मात्रै लागेको भए ठुलै साहित्यकार हुने मान्छे राजनीतिमा लागेर बिग्रेछन् ! उहिलेको त्यस टिप्पणीप्रतिको आक्रोश अहिले आशंकामा परिणत भएको छ ! उहिलेको बीपी र अहिलेको देउवा तुलना गर्दा हो कि ? भन्ने लाग्न थालेको छ ! बीपी आफू पनि बिग्रीनुभो र हामीजस्ता धेरैलाई बिगार्नु पनि भो ! बेलैमा पञ्चायती जागीर खाएर या बहुदलपछि पनि स्थानीय नेतासँग मिलेर मेची किनारमा सुपारी ओसार्दै रक्तचन्दनको टीका लाएर पोको तयार गरेको भए अहिले पोकेमन्त्री हुन सहज हुनेरैछ !

मुलुक बदल्ने हो भने अब सोच बदल्नुपर्छ ! काङ्ग्रेस बदल्ने हो भने तरिका फेर्नुपर्छ ! काङ्ग्रेसलाई आधुनिकतातिर लानुपर्छ ! खरानी भैसकेको बीपीको खोक्रो आदर्शबाट काङ्ग्रेस मुक्त हुनुपर्छ ! पार्टी संकटमा पर्दा नाङ्गो पिठ्युँमा काङ्ग्रेस बोकेर हिँड्ने ‘बोके काङ्ग्रेस’ हैन पोका बोकेर बुढानिलकण्ठ दर्शन गर्न जाने ‘पोकेका काङ्ग्रेस’ प्रबर्द्धनमा लाग्नुपर्छ ! त्याग तपस्या र बलिदान हैन पोकाको मुल्यांकन हुनुपर्छ ! पोकाको शक्तिले कुनै समय प्रतिकार समितिको केन्द्रिय सदस्य रहेको ब्यक्ति पनि मन्त्री हुँदै पार्टी प्रवक्ता बन्न सक्छ अनि कुनै समयको बामपन्थीले काङ्ग्रेस भएर गृहमन्त्री पड्काउन सक्छ ! पार्टी र मुलुक समृद्धिका लागि पोका थन्क्याउन सिपालु समेतलाई मौका दिनु उत्तम हुन्छ ! त्यसका लागि नजिकका आफन्त र भाइभारदार भित्र्याउनु जरुरी छ ! पञ्चायतकालिन कालरात्रीमा काङ्ग्रेसीहरु जेलको कालकोठरीमा कोचिएर कठिन सास लिँदै गर्दा विदेशी समुन्द्रमा सनबाथमा ब्यस्त छोरी बोलाएर शीर्ष स्थान दिने गिरिजाप्रसादको आदर्श कदमको अनुसरण गर्दै विदेश पलायन भएका रुवेल ज्वाईंलाई तुरुन्तै आयात गरी किचन बाइपासको जिम्मेवारी दिन ढिलाइ गर्नुहुन्न ! रहेसहेको कसर मानवतस्कर सालोले पूरा गरिहाल्छन् !!

मुलुक र पार्टीलाई समृद्धिको शिखरमा पुऱ्याउने हो भने मन्त्रिमण्डलमा धमाधम पोके भर्ती गर्नुपर्छ ! सभासद त दिएकै छ क्यारे ! चौधरीलाई तुरुन्तै क्याबिनेट मन्त्री बनाइहाल्नुपर्छ ! राज्यमन्त्रीले त आधा दिन्छन् भने फुलमन्त्रीले झन् धेरै देलान् ! चौधरीलाई मन्त्री बनाए पारिको मुकेश अम्बानीलाई उनैले ल्याइहाल्छन् ! अम्बानीलाई उपप्रधानमन्त्री बनाइदिउँ ! पोको झन् ठूलो आउला !! अम्बानी उप भएपछि कहिल्यै मन्त्री हुन नपाएको बिचरो विल गेट्स याचना गर्न नआउने कुरै भएन ! उसलाई पनि एउटा उप थमाइदिउँ ! कुनै समय आधा दर्जन उपप्रधानमन्त्री बनाएकै को क्यारे ! अरु पोके याचक आए थप्दै जाउँला !! सोचौँ त- यति गरे पार्टी कहाँ पुग्छ ? मुलुक कहाँ पुग्छ ? समृद्धि मात्र हैन गलगिद्धी समेत आउँछ ! नआई सुखै छैन !

तर एउटा आशंका चैँ छ है- ब्यापारी हुन्.. कात्रोमा समेत नाफा खाने जात ! नाफा खान र झुठ बोल्न छोड्दैनन् ! भोलि पकेटबाट दशको नोट निकालेर मेरो जम्मै सम्पत्ति यत्तिनै हो ! पाँच राखेर पाँच रुपैया फिर्ता गर भनेर गुल्चे खेले भने चैँ के गर्ने होला ? रात रहे अग्राख पलाए भन्छन् ! दिन्छु भनेको चैँ लिइहाल्ने हो कि ? कि कसो देउभाउजु ? तपाईं त्यता लाग्नुस् ! मलाई चैँ शीर्षक चिच्याउँदै घोप्टो परेर रुन मन लाग्यो.. जय नेपाल !!