तीन भारतीयद्वारा दुई युवक अपहरित, भारतबाट उद्धार

तीन भारतीयद्वारा दुई युवक अपहरित, भारतबाट उद्धार



अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको हो ।

उद्धार गरिएका युवाहरूमा हेटौँडा उपमहानगरपालिका-९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुवै जनालाई सकुशल उद्धार गरी आइतबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौँडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको हो । भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक रिमालका अनुसार अपहरणमुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । अपहरण गर्नेहरु पनि चिनजानेकै हुन् । अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको देखिएको छ ।

अपहरणकारीले उनीहरुसँग प्रतिव्यक्ति रु पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । फिरौती नपाए मिर्गाैला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्धार गरिएको र उक्त घटनाको विषयमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।