भाजपाका विदेश विभाग प्रमुख बालुवाटारमा

भाजपाका विदेश विभाग प्रमुख बालुवाटारमा


प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले शिष्टाचार भेट गर्नुभएको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको उक्त भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।

दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा. महतको भनाइ छ । सहमहामन्त्री डा. महतले आफ्नै निमन्त्रणामा चौथाइवाले नेपाल आउनुभएको बताउनुभयो ।